फेवाताल संरक्षणका लागि होटल संघको १ लाख सहयोग

पोखरा न्यूज -०६, कार्तिक । पश्चिमाञ्चल होटल संघ पोखराले फेवातालको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रलाई लक्षित गरी गठित फेवा वाटरसेड इकोसिष्टम म्यानेजमेण्ट बोर्डलाई बुधबार एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

पोखराको लेकसाइडमा आयोजित बोर्डको बैठकका अवसरमा संघका अध्यक्ष एवं वोर्डका कोषाध्यक्ष विकल तुलाचनले बोर्डका संयोजक पुण्यप्रसाद पौडेललाई उल्लेखित रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मण सुबेदी, कोषाध्यक्ष पार्वती पाण्डे र सचिवालय प्रमुख रामप्रसाद खनालको पनि उपस्थिति थियो ।

वातावरण संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले विगतमा पनि विभिन्न काम र गतिविधि संचालन गर्दै आएको र आर्थिक सहयोग समेत प्रदान गरेको संघका अध्यक्ष तुलाचनले सो अवसरमा स्मरण गराए । यसअघि पनि संघले दुई पटक गरेर दुई लाख १ हजार एक सय ११ रुपैयाँ ताल संरक्षणका लागि बोर्डलाई प्रदान गरिसकेको पनि अध्यक्ष तुलाचनले जानकारी दिए ।

तालको उपल्लो तटीय क्षेत्रको संरक्षण भए फेवा तालको संरक्षणमा पनि ठूलो टेवा पुग्ने अवधारणा अनुसार तीन बर्ष अघि बोर्डको स्थापना भएको थियो । कार्यक्रममा बोर्डका संयोजक पौडेलले हालसम्म सो संस्थामार्फत् भएका संरक्षणका कामहरु बारे जानकारी गराएका थिए । डब्लु डब्लु एफ– हरियो बन र पोखरा महानगरपालिका तथा स्थानीय वासिन्दा तथा संस्थाहरुसँग सहकार्य गर्दै बोर्डले संरक्षणका काम गर्दै आएको पौडेलले सुनाए । गत बर्ष मात्र २१ लाख रुपैयाँ हाराहारीको काम सम्पन्न गरिएको उनले बताए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यो आर्थिक बर्षमा काम गर्ने गरी फेवातालको मुहानको रुपमा रहेका खोलाहरुमा पाँच चेक ड्याम निर्माण गर्ने योजना रहेको संयोजक पौडेलले सुनाए । यसका लागि ३४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । बोर्डले यो वर्ष जलकुम्भी झार तालबाट हटाउने योजनालाई प्राथमिकता दिने उनले बताए । उपल्लो तटीय क्षेत्रमा होमस्टे संचालन, अम्रिसो, कफि लगायतको खेति र आयआर्जनका काम संचालन गरी संरक्षणमा टेवा दिने शोच समेत बोर्डले बनाएको सो अवसरमा बताइयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button