धानखेतीमा फौजी कीराको प्रकोप

पोखरा न्यूज – १३, कार्तिक ।  बाँकेमा फौजी कीराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो ।

जिल्लाको धानखेती हुने ३६ हजार ५ सय  हेक्टर क्षेत्रफलमध्ये ३२ प्रतिशत अर्थात् १७ हजार हेक्टरमा धान फौजी कीराले नष्ट गरेको छ । फौजी कीराले प्रभावित क्षेत्रमा ५० देखि शतप्रतिशतसम्म धान नष्ट गरेको छ । ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार फौजी कीराको प्रकोप सबैभन्दा बढी नेपालगञ्ज, डुडुवा, बैैजनाथ र राप्तीसोनारीमा देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ सुँइयालगायतका ठाउँमा शतप्रतिशत धानबाली फौजी कीराले नष्ट गरेको छ । डुडुवाको बन्जारे गाउँ, राप्ती सोनारीको फत्तेपुरलगायतका क्षेत्रमा पनि फौजी कीराले धेरै धान नोक्सान गरेको छ ।

जिल्लामा कूल दुई लाख २५ हजार ८ सय ३६ हेक्टर क्षेत्रफलमध्ये २५ प्रतिशत अर्थात् ५७ हजार २ सय ५२ हेक्टरमा खेती हुन्छ । छत्तीस हजार ५ सय हेक्टरमा धानखेती हुँदै आएको छ । यस वर्ष बीउ राख्ने र रोप्ने बेलामा पर्याप्त पानी परेकाले धान उत्पादन बढ्ने आँकलन गरिएको बेला फौजी कीराको प्रकोप देखिएको छ ।

फौजी कीराको प्रकोप बर्दियामा पनि देखिएको छ । प्रदेशसभा सदस्य कृष्णा केसीले फौजी कीराको प्रकोपबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन। सांसद महेश्वर गहतराजले सङ्घीय सरकारका कृषिमन्त्रीलाई भेटेर पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरका छन  ।

“विषादी छरेर फौजी कीराको प्रकोप नियन्त्रण तथा पीडित किसानलाई राहत दिनेबारे योजा बनाउँदै छौँ”, ज्ञान केन्द्र प्रमुख ढकालले भने, “राहतका लागि हामीले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button