
पोखरा न्यूज – १३, कार्तिक । अस्ट्रेलिया विरुद्धको दोस्रो टी२० क्रिकेट खेलमा पहिले ब्याटिङ रोजेको श्रीलंका ११७ रनमै सीमित हुन पुगेको छ ।
ब्रिसबेनस्थित गाब्बा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाली टिमले खराब प्रदर्शन गर्यो । पावरप्लेको ६ ओभरको २ विकेटको गुमाएको श्रीलंकाका लागि कुशल परेराको २७(१९) र गुनथिलकाको २१(२२) नै सर्वाधिक ठूलो योगदान रह्यो । त्यस्तै कुशल मेन्डिस १ रन, अभिस्का फर्नान्डोले १७ र डिकवेल्ला ५ रन बनाएर आउट भए । अस्ट्रेलियाका बिल्ली स्टानलेक, प्याट कमिन्स, एडम जाम्पा र एस्टन एगरले २-२ विकेट लिए । ११८ रनको सहज लक्ष्यका साथ अस्ट्रेलिया केही क्षणमा ब्याटिङमा उत्रनेछ ।
अस्ट्रेलियाली टिममा एरोन फिन्च, डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्स्वेल, एस्टन टर्नर, एलेक्स क्यारी, एस्टन एगर, प्याट कमिन्स, बिल्ली स्टानलेक, केन रिचार्डसन र एडम जाम्पा रहेका छन् । यसैगरी श्रीलंकाली टिममा अभिष्का फर्नान्डो, दानुश्का गुनथिलका, कुसल मेन्डिस, कुसल परेरा, दासुन शानाका, निरोशान डिकेवेल्ला, वानिन्दु हासाराङ्गा, लक्षण सन्दाकान, नुवान प्रदीप, लसिथ मालिङ्गा र इसुरु उडाना रहेका छन् ।
अस्ट्रेलियाले आइतबार खेलिएको पहिलो टी२० खेलमा श्रीलंकालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस खेलमा अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शतक बनाएका थिए । अस्ट्रेलियाली टिम तीब्र गतिका बलर मिचेल स्टार्क बिना खेल्दैछ । उनको स्थानमा बिल्ली स्टानलेकले मौका पाएका छन् ।





