
पोखरा न्यूज – १३, कार्तिक । क्यालिफोर्नियाको लङ्ग बिचस्थित एक घरमा गोली चल्दा तीनको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
क्यालिफोर्नियाको स्थानीय समय अनुसार रातको १०:४४ बजे भएको घटनामा एक स्थानीय घरमा पार्टी भइरहेको अवस्थामा उक्त घटेको थियो । घटनामा प्रहरीले कसैलाई नसमातेको र हत्यारा घटनास्थलबाट फरार रहेको जनाइएको छ ।
प्रहरीले घाइते र मृत सबै वयस्क रहेको पनि उल्लेख गरेको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीमध्ये केहीको अवस्था गम्भीर पनि भएको प्रहरीको ट्विटर रिपोर्टमा बताइएको छ ।
घटनामा घाइते भएका केही आफै अस्पताल गएको वा अरुले उद्धार गरेर अस्पताल लगेको हुनसक्ने भएकाले घाइते र मृतक दुवैको सङ्ख्या बढ्न सक्ने पनि जनाइएको छ ।





