३ करोड खर्चेर २३ रोपनी क्षेत्रफलमा माछापालन गर्दै पर्वतका युवा

पोखरा न्यूज – १६, कार्तिक । कृषि क्षेत्रमा आधुनिकीकरणको लहर चलिरहेका बेला पर्वतका दुई युवाले रु तीन करोडको लगानीमा माछापालन व्यावसाय शुरु गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा थोरै जमिनमा धेरै उत्पादन दिने गरी धौलागिरि एकीकृत कृषि फार्म शुरु गरिएको हो ।

झण्डै एक दशकदेखि व्यावसायिक कृषिमा संलग्न लालबहादुर हरिजन र दुर्गा पौडेलले २३ रोपनी जमीनमा ‘बायोफक्स’ प्रविधिबाट माछापालन व्यावसाय शुरु गरेका हुन् । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डअन्तर्गतको अर्मादीमा स्थानीयसँग २० वर्षका लागि जग्गा भाडामा लिएर फार्म सञ्चालन शुरु गरिएको हो ।

यो प्रविधिअन्तर्गत माछापालन गर्दा थोरै क्षेत्रफलमा धेरै प्रजातिका माछा पाल्न मिल्ने, छोटो समयमा आम्दानी लिन सकिने, दाना खेर नजानेलगायत फाइदा हुने सञ्चालक हरिजनले बताए । “कृषिमा नयाँ प्रविधि खोजेर व्यवहारमा उतार्न खोज्दा यहाँसम्म आइयो”, हरिजनले भने , “भइरहेकोभन्दा फरक गर्न खोज्दा जोखिमसँगै सम्भावना पनि रहेछ ।”

विकसित मुलुकमा बढी प्रयोगमा ल्याइएको यस्तो प्रविधिको माछापालन शुरुमा अलि झन्झटिलो हुने उनले बताए । गोलाकार फलामे जालीमा प्लाष्टिक पोखरी बनाएर पानी भरेर माछापालन गरिने प्रविधि नै ‘बायोफक्स’ हो ।

“गुगलमा खोज्दै जाँदा यस्तो प्रविधि भेटियो”, पौडेलले भने, “शुरु गरिहालौँ भनेर आँटियो । पछि प्लास्टिकको पोखरी फेल खायो ।” उनीहरूले इँटा र सिमेन्टको गारो लगाएरै गोलाकार पोखरी बनाएका हुन् । हाल करीब दुई दर्जन पोखरीमा एक लाखभन्दा बढी माहुर, तिलापिया र जलकपुर जातका माछा राखिएको छ । त्यसबाहेक उनीहरूले करीब चार हजार ब्रोइलर कुखुरापालन थालेका छन् ।

उत्पादित माछाको बजारीकरणका लागि पर्वत र बागलुङका आठ स्थानमा बिक्री केन्द्र सञ्चालनको तयारी गरेका छन् । “बागलुङका तीन ठाउँमा शुरु भइसक्यो”, पौडेलले भने , “पर्वतमा व्यवस्थापन गर्दैछौँ ।” आफ्नै फार्मका माछा र कुखुरा व्यवस्थित बध गरेर उपभोक्ताका घरघरै शुद्ध माछा मासु पठाउन बिक्री केन्द्र सञ्चालन गर्न लागिएको हो । फार्मकै नामबाट आधुनिक कुखुरा बधस्थल सञ्चालनको तयारीसमेत उनीहरुले गरेका छन् ।

करीब सवा करोड लगानीमा सञ्चालन तयारीमा रहेको ‘अटोमेटिक सटरिङ लाइन’ मार्फत धौलागिरिमा भइरहेको अव्यवस्थित कुखुरा बध गर्ने प्रचलन अन्त्य हुने विश्वास गरिएको उनले बताए । बधस्थलका लागि प्रदेश सरकारले रु एक करोड अनुदान दिएको छ । “व्यवस्थित बधस्थलको अभावमा उपभोक्ताले अस्वस्थ मासु खानुपरेको छ”, हरिजनले भने, “अब त्यस्तो अवस्थाको अन्त्य हुनेछ ।”

माहुर, तिलापिया र जलकपुर जातका माछा कम्तीमा आठदेखि १० महिनामा बेच्न मिल्छ । माहुर एक किलोसम्म हुन्छ । यसको बजार मूल्य प्रतिकिलो रु ४०० सम्म छ । जलकपुर आधा किलोको हुन्छ । यसको बजार मूल्य प्रतिकिलो रु ५०० छ । तिलापिया बढीमा २०० ग्रामको हुन्छ । तिलापियाले भुरा आफैँ उत्पादन गर्ने भएकाले यसको विस्तारमा सहज हुने उनीहरूको भनाइ छ । तिलापिया पनि प्रतिकिलो रु ४०० मा बिक्री हुन्छ ।

पौडेल र हरिजन फार्ममा आफैँ आलोपालो खट्दै आएका छन् । यसबाहेक तीन जना कामदार छन् । केही महिनाभित्रै मासिक रु तीन लाख आम्दानी लिन सकिने योजनामा रहेको उनीहरुको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button