सोमालियामा बाढीबाट ५ लाख ७५ हजार विस्थापित

पोखरा न्यूज – १६, कार्तिक ।  सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्तायताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ । यहाँ गएको अक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा बढी नागरिक विस्थापित भएका उक्त समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय एक एजेन्सीका अधिकारीहरुका अनुसार बाढीका कारण यसरी विस्थापित हुनेहरु सबैभन्दा बढी बियानी भन्ने ठाउँका परेका छन् । भारी मात्रामा परेको वर्षाका कारण यहाँको स्थानीय सियाली नदीमा आएको बाढीबाट यति ठूलो मात्रामा नागरिक विस्थापित हुन पुगेका बताइएको छ ।

यस वर्ष बाढी मात्र नभएर खडेरी र आन्तरिक द्धन्द्धका कारण पनि ठूलो संख्याका नागरिक विस्थापित हुन पुगेका छन् । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी, युएनएचसिआरका अधिकारीहरुका अनुसार यस वर्षमात्र सोमालियामा विस्थापित मानिसको संख्या ५ लाख ७५ हजार रहेको बताइएको छ ।

अक्टोबर महिनामा आएको भारी वर्षाका कारण आएको बाढीबाट विस्थापित ती नागरिकको अवस्था निकै नाजुक रहेको पनि बताइएको छ । प्राप्त समाचारअनुसार उनीहरु कोही रुखमुनी त कोही अस्थायी टेन्ट बनाएर बसेका छन् । लाखौँ नागरिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुको उद्धारको लागि शरणार्थीसम्बन्धी उक्त एजेन्सीले सबैमा आग्रह गरिरहेको छ ।

ती शरणार्थीको अवस्था निकै नाजुक भएकोले उनीहरुको सहयोगका लागि उक्त एजेन्सीले सबैमा आग्रह गरेको समाचारमा जनाइएको छ । शरणार्थीहरुलाई आधारभूत आवश्यकताको लागि सोमाली सरकारले दाता निकाय र संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button