साग : पोखरामा प्याराग्लाइडिङ खेल नहुने सम्भावना

दीननाथ बराल, पोखरा न्यूज – १६, कार्तिक । नेपालले पदकको आशा गरेको साहसिक खेल प्याराग्लाइडिङ पोखरामा नहुने सम्भावना देखिएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित गरी पोखरामा हुने भनिएको प्याराग्लाईडिङ खेलको भौतिक संरचना निर्माणमा हालसम्म सरकारी निकायबाट बजेट समेत विनियोजन नभएको र प्रतियोगितामा सहभागी राष्ट्रहरुले खेलाडी दर्ता गर्न समेत चासो नदेखाएकोले गर्दा सागमा प्याराग्लाईडिङ खेल नै समावेश नहुने प्रवल सम्भावना रहेको श्रोतले जनाएको छ ।

नेपालले एसियन गेममा १८ देशका सहभागी राष्ट्रहरु मध्य क्रस कन्ट्री तर्फ रजत पदक हात पारेको हुँदा सागमा स्वर्ण पदक नै आस गरे पनि उक्त प्रतियोगिता हुने सम्भावना निकै कम भएको नेपाल प्याराग्लाइडिङ ह्याण्ड ग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र रावतले बताए । उनले भने “बंगलादेश र श्रीलंकाका प्याराग्लाईडिङका खेलाडीहरु लगभग नआउने भए, अन्य देशका खेलाडीहरु पनि आउने सम्भावना निकै कम छ, प्याराग्लाईडिङ अधिकांश देशमा साहसिक खेलको रुपमा मात्र लिइएकाले सरकारी स्तरको खेल संघ नहुँदा समस्या देखा परेको हो ।”

पोखरामा प्याराग्लाईडिङ सहित ९ वटा खेलहरु हुने भन्दै ठाउँ समेत अवलोकन गरे पनि प्रतियोगिता संचालनको लागि आवश्यक पर्ने उडान र अवतरण गर्ने स्थल, चेन्जिङरुम, ट्वाइलेट वाथरुम लगायतको संरचनामा हालसम्म राष्ट्रिय खेलकुद परिषदले कुनै चासो नदेखाएकोले गर्दा पनि पोखरामा प्याराग्लाईडिङको सम्भावना कम भएको श्रोतको दाबी छ ।

पोखरामा साग लक्षित विभिन्न खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न ९ करोड ५८ लाखको बजेट माग गरे पनि प्याराग्लाईडिङलाई कुनै बजेट नपरेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका अनुसार आफुहरुले माग गरे अनुसारका केही खेल पूर्वाधार निर्माणको रकम बजेटमा परेको छैन्।

प्रमुख योगीले पोखरामा हुने महिला फुटबल ब्याडमिन्टन, बिच भलिबल, आर्चरीको काम भइरहेको बताए । भारत्तोलन खेल भने माटेपानीको एक क्याटरिङमा हुने भएको छ । इण्डोर गेम भएको हुनाले तत्काल ठुलो हल बनाउन नसक्ने भएकोले गर्दा क्याटरिङमा खेल हुने भएको उनले जनाए ।

उनले भने “ साग लक्षित हुने गरी पोखरामा हुने भनिएका कुनै पनि खेलहरु पूर्वाधारको कारणले गर्दा खेल रोकिदैन, धेरै राम्रो गर्न नसकिएला तर खेल संचालन गर्ने अबस्थामा हामीले खेल पूर्वाधार निर्माण गर्ने छौं । ” केही खेलको पोखरामा राष्ट्रिय बन्द प्रशिक्षण संचालन भई रहेको उनले जनाए । महिला क्रिकेटको लागि पिच निर्माणको काम भइरहेको प्रमुख योगीले जनाए ।

आठ देखि दश हजार सिट क्षमताको प्यारापिट सहितको फुटबल स्टेडियम निर्माण हुने 

त्यस्तै सागलाई लक्षित हुने गरी आगामी २७ दिन भित्र न्यूनतम ८ देखि १० हजार सिट क्षमताको प्यारापिट सहितको फुटबल स्टेडियम निर्माण हुने भएको छ । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ई. दीपक बरालका अनुसार प्यारापिटको  ए र सी ग्यालरीमा लगभग फाउण्डेसनको काम सकिएसँगै अब केही दिनमा स्टील फिटिङको कार्य शुरु हुनेछ । बरालले भने “म आफै पोखरावासी हुँ, मेरो इज्जतसँग फुटबल स्टेडियम जोडिएको छ, त्यस कारण हामीले साग पोखरामै हुने गरी कुनै पनि हालतमा ८ देखि १० हजार सिट क्षमताको फुटबल स्टेडियम निर्माण गर्नेछौं ।” त्यस्तै १७ वटा शौचालयहरु मध्य हाल ७ वटा तत्काल प्रयोग गर्न सकिने र ११ शौचालय निर्माणकै चरणमा रहेको उनले जनाए ।

फुटट्रयाकमा दुई चरणको पिच भएकोले अब अन्तिम चरणमा सेन्थेथिक ट्रयाक निर्माण गरिने ई.बरालले जनाए । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म (मंसिर १५ देखि २४ गते) हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबल प्रतियोगिताको लागि आफुहरुले फुटबल स्टेडियम निर्माण गरी सक्ने उनले जनाए । अन्तर्राष्ट्रिय स्तरको रंगशाला तयार गर्न  पोखरा रंगशालाको फुटबल मैदानमा भारत कोलकाताबाट दुबो ल्याएर रोपिएको छ ।

भारतको ग्रेट स्पोट्र्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा एक अर्ब २८ करोडको लागतमा उक्त प्रोजेक्टको जिम्मा लिएको हो । साग पोखरामा हुने गरी निर्माण कम्पनीले कुनै पनि हालतमा पोखरा रंगशाला निर्माण गर्नु पर्ने अन्यथा आफुहरुले निर्माण कम्पनीलाई कारवाही गर्ने राखेप सदस्य राजेश कुमार गुरुङले चेतावनी दिदै आएका छन्।

उनले भने “ हामीलाई विश्वास छ, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बराल पोखरेली भएको नाताले हाम्रो इज्जत र प्रतिष्ठासंग समेत जोडिएको बिषय भएकोेले उहाँले पोखरा रंगशाला समयमै निर्माण गरि सक्नु हुनेछ, अन्यथा हामी उनी उपर नै कारवाही गर्न बाध्य हुने छौं । ” पोखरामा साग अन्तर्गत महिला तथा पुरुष ह्याण्डबल, भारत्तोलन , बिच भलिबल, महिला फुटबल, महिला क्रिकेट, ब्याडमिन्टन, ट्राय्थलन र आर्चरी हुने तयारी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button