फेसबुकले कमाउँछ प्रति प्रयोगकर्ता ७.२६ डलर

पोखरा न्यूज – १६, कार्तिक ।  फेसबुकले अघिल्लो वर्षभन्दा १९ प्रतिशतले वृद्धि गर्दै आफ्नो इतिहासकै दोस्रो सर्वाधिक औसत आम्दानी प्रति प्रयोगकर्ता (एआरपियु) कायम गरेको छ । यस अवधिमा फेसबुकले आफ्नो एआरपियु ७.२६ डलर पुर्याएको छ ।

फेसबुकमाथि लागेका प्रयोगकर्ताको व्यक्तिगत विवरणको हिनामिना, कर छली, फेक न्युज, क्याम्बृज एनालिटिका काण्ड, चुनावमा अनैतिक प्रभावजस्ता आरोपलाई पाखा लगाउँदै तेस्रो चौमासिकको रिपोर्टले यस्तो प्रगति विवरण देखाएको हो । एआरपियु गणनाका लागि त्रैमासिक आम्दानीलाई कुल प्रयोगकर्ताले भाग गरिन्छ ।

यस्तो प्रगतिले फेसबुकले आगामी दिनमा पनि विज्ञापनदातालाई कुनै छुट नदिई विज्ञापन खर्च असुल्ने अनुमान गरिएको छ । फेसबुकको तुलनामा यस अवधिमा स्न्यापको एआरपियु २.१२ डलर, पिन्ट्रेस्टको ०.९ डलर र ट्विटरको एआरपियु ५.६८ डलर मात्रै रहेको छ ।

फेसबुकको साथैमा इन्स्टाग्राम, व्हाट्सएप पनि भएकाले विश्वको विज्ञापन दुनियाँमा फेसबुकको मजबुत उपस्थिति छ । यसले फेसबुकलाई लामो समयसम्म आफ्ना प्रतिद्वन्दी भन्दा निकै अगाडि नै राखिरहने विज्ञहरुको अनुमान छ ।

निकै व्यापक प्रयोगकर्ता सञ्जाल, प्रयोगकर्ता विवरणको विशाल भण्डार र लक्षित वर्गसम्म सिधै पुग्न सक्ने विज्ञापन प्रणालीले पनि फेसबुकलाई सामाजिक सञ्जालमा अद्वितीय बनाएको पनि जानकारहरुको राय छ । आशा गरिए विपरीत फेसबुकको यस्तो प्रगतिशिल विवरण बाहिरिएसँगै फेसबुकको सेयरमुल्यमा पनि २ प्रतिशतले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button