जर्मनीले सन् २०३० सम्म १० लाख विद्युतीय कार चार्जिङ स्टेशन बनाउने

पोखरा न्यूज – १८, कार्तिक ।  जर्मनीकी चान्सलर एन्जेला मर्केलले जर्मनीले सन् २०३० सम्म १० लाख विद्युतीय कार चार्जिङ स्टेशन बनाउनु पर्ने बताएकी छिन् । कार उद्योगका प्रतिनिधिहरुसँग आज(सोमबार) चान्सेलरीमा हुने वार्ता अघि उनले कम कार्बन उत्सर्जन गर्ने र ब्याट्रीबाट चल्ने सवारीसाधनहरुको प्रवर्द्धनका लागि विद्युतीय पुर्वाधार निर्माण गर्नु अनिवार्य हुने कुरामा जोड दिएकी हुन् ।

जर्मनीको यातायात सेक्टरले आफ्नो राष्ट्रिय कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न विद्युतीय पुर्वाधारलाई व्यापक विकास गर्नु पर्ने भन्दै जर्मनीमा हुन लागेको यो दोस्रो वार्ता हो । हाल जर्मनीमा २० हजार मात्र सार्वजनिक विद्युतीय कार चार्जिङ स्टेशन रहेकोमा सन् २०२१ सम्म उक्त सङ्ख्या १ लाख पुर्याउने पर्ने प्रतिबद्धता आवश्यक रहेको भोक्सवागनका बोर्ड मेम्बर स्टेफेन वेलले बताएका छन् । भोक्सवागनले आफ्नो उत्पादन लाइनलाई छिटै नै ब्याट्रीबाट चल्ने कारतर्फ परिवर्तन गर्ने बताएपनि पुर्वाधारको अभावले आफ्नो उत्पादन बजारीकरणमा समस्या पर्ने जनाएको छ ।

विद्युतीय कारका सम्भावित ग्राहकहरु चार्जिङ पुर्वाधारको अभावले विद्युतीय कारबाट पछि हट्ने गरेको अटोमोबाइल क्षेत्रका जानकारहरुको राय छ । जर्मन सरकारले भने अटोमोबाइल उद्योगसँगको सहकार्यमा ग्राहकलाई अनुदान दिएर भने पनि विद्युतीय कारको प्रवर्द्धन गर्ने पक्षमा छ । विद्युतीय कारका अलावा जर्मनी सरकारले हाइड्रोजन फ्युल सेललाई उर्जाको रुपमा प्रयोग अटोमोबाइल निर्माणलाई प्राथमिकता दिने बताएको छ ।

जर्मनीमा भोक्सवागन, बिएम् डब्ल्यु, औडी, फोर्ड, मर्सिडिज बेन्ज, ओपल जस्ता विश्वविख्यात गाडी निर्माताहरु अवस्थित र सञ्चालित छन् । मर्केलले आफ्नो देशमा रहेका कार र कारका पार्ट्पुर्जा निर्माण गर्ने विशाल अटोमोबाइल उद्योगलाई जोगाउन जर्मन सरकार लागिपर्ने पनि बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button