आफ्नै घरमा अलपत्र स्याङ्जाका ८० वर्षीय जिटी

पोखरा न्यूज – १९, कार्तिक ।  खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइररेका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ ।स्याङ्जा जिल्लाको  गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो ।

उमेरले डाँडा काटिसक्यो, यो बुढ्यौलीको उमेरमा आफन्तको माया, ममता र स्याहारसुसारको आवश्यकता पर्ने बेलामा उनलाई आफन्तकै सम्झनाले टोलाइरहने बनाएको छ । श्रीमतीको एक वर्ष पहिले मृत्यु भएपछि जिटी एक्लो जीवन बिताउँदै आएका छन् । दैनिक गर्नुपर्ने कामको जिम्मा पनि बुढ्यौलीले छोपेका जिटीकै जिम्मामा परेको छ । रासससँग कुरा गर्दै उनले आफ्नो  विगत सम्झँदै भने, “जीवनमा धेरै दुःख गरियो, बुढेसकालमा झन् दुःख थपिँदै गएको छ ।”

दुई सन्तान जन्मिए पनि छोराको सानैमा सर्पको टोकाइबाट मृत्यु भएको र विवाह गरेर गएकी छोरीको पनि मृत्यु भएपछि आफ्नो भन्ने कोही नभएको उनले बताए । नगरपालिकाले घरको छाना टिनले छाइदिएको र त्यही छाउने क्रममा जम्मा भएको फोहर सफा गर्ने क्रममा उनको खुट्टा काटियो । समयमै उपचार नगरी बस्दा समस्या बढ्दै गएपछि पाल्पामा उपचार गराउँदा लागेको ऋण तिर्न रु ५० हजारमा बारी बेचेको उनले सुनाए ।

उनले भने, “अस्पतालको ऋण तिर्न भएको बारी बेचे , अब जग्गाको नाममा यही घर भएको बारी मात्रै छ, कसैको सहयोग पाए केही सहयोग हुने थियो, केही काम गर्न सक्ने अवस्था छैन, शरीर लौरीको भरमा हिँडाउनुपर्छ, यस्तै छ जिन्दगी, आफन्त नभएपछि के गर्नू ?” घरमा एक्लै भएपछि अहिले उहाँको दैनिकी पिँढीमा बसेर आफन्तको सम्झनामा टोलाएरै बित्ने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button