पोखरामा लाखौं अनुदानको कृषि परियोजना घाटामा चल्दै

दीननाथ बराल, पोखरा न्यूज – १९, कार्तिक । आधुनिक कृषि प्रणाली, बेमौसमी तरकारी उत्पादनलगायतका उद्धेश्यले संचालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत एक करोड लगानीमा पोखरामा शुरु गरिएको एक हाइटेक प्रोजेक्ट परियोजना हाल समस्याग्रस्त भएको छ । परियोजना संचालकहरु र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कर्मचारीहरुबीचको समन्वय र सहकार्य राम्रो नहुँदा उक्त प्रोजेक्ट हाल समस्याग्रस्त हुन थालेको हो ।

पोखरा महानगरपालिका २५ हेम्जामा देवीस्थान कृषि सहकारी संस्था लिमिटेडको नेतृत्वमा स्थानीय १२ वटा सहकारीहरुको संयुक्त पहलमा विगत दुई बर्ष देखि संचालनमा आएको उक्त हाइटेक प्रविधिको तरकारी खेतीबाट स्थानिय कृषकहरुले विभिन्न कारणले गर्दा राम्रो प्रतिफल लिन सकेका छैनन्। अर्गानिक खेतीको सम्भाव्यता, असिना, हावाहुरी, रोगकिराबाट सुरक्षा, श्रमको सदुपयोग, आधुनिक ग्रिन हाउस र नर्सरी, फर्टिगेसन सहितको अत्याधुनिक ड्रिप सिंचाई, तापक्रम र आद्रता नाप्ने अत्याधुनिक मेसिन, फोगर र सेमी अटोमेटिक भेन्टिलेशन, प्लाष्टिक मन्चिङ, उन्नत जातका स्वस्थ्य बेर्ना बिक्रि वितरण गर्ने उद्धेश्यले स्थापना भएको हाइटेक प्रविधिमा हाल समस्या देखा परेको उक्त परियोजनाका व्यबस्थापक शालिकराम बाँस्तोलाले गुनासो गरे ।

बाँस्तोलाले भने “हामीले जुन रुपमा हाइटेक प्रविधिलाई प्रयोग गर्यौं सो अनुसारको प्रतिफल त्यसबाट लिन सकेनौं । ”आफुहरुले उत्पादन गरेको फलफूल र तरकारीले उचित मुल्य नपाएको हुँदा गत बर्ष ४० क्विन्टन जति हाइब्रिड (सानो जातको) काँक्रो त्यसै खेर फाल्नु परेको उनले गुनासो गरे । उनले भने “यो प्रविधिबाट खुल्ला आकास मुनि लगाएको तरकारी भन्दा कम्तिमा तीन गुणा भन्दा बढी उत्पादन हुन्छ भनेर हामीले हाइटेक प्रविधि अपनायौं र लगानी पनि गर्यौं तर यसमा आवश्यक पर्ने थप प्रविधि र प्राविधिक ज्ञानको अभावले गर्दा हाल हामीले मुनाफा लिन सकेका छैनौं ।” सरकारको अनुदानबाट संचालन भएको प्रोजेक्टमा सरकारले अनुगमन र त्यसको राम्रो मुल्यांकन हुन नसक्दा पनि आफुहरु हाल निकै मर्कामा परेको व्यवस्थापक बाँस्तोलाले बताए । त्यसै गरी आफुहरुको लगाएको काँक्रो र टमाटरमा विभिन्न रोग देखा पर्न थालेको देवीथान कृषि सहकारी संस्थका अध्यक्ष समेत रहेका परियोजनाका व्यवस्थापक बाँस्तोलाले बताए ।

आफुहरुसँग बिउबिजन पनि नेपाली हावा पानी अनुसार नभएकाले गर्दा हाइटेक प्रविधिमा लगाइने फलफूल तथा तरकारी उत्पादन प्रभावित भएको र उत्पादित वस्तुको समेत उचित मुल्य नपाउदा आफुहरु मर्कामा पर्दै आएको उनले जनाए । मासिक ४ लाख आम्दानी हुनु पर्नेमा उक्त प्रोजेक्टबाट हाल ५० प्रतिशत भन्दा पनि कम हुने आम्दानी भएको व्यवस्थापक बाँस्तोलाले बताए । एक करोडको उक्त प्रोजेक्टमा ८५ लाख रुपैया प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट अनुदान प्राप्त भएको छ भने  १५ लाख रुपैया सहकारीले लगानी गरेको हो । उक्त प्रोजेक्टमा ३ हजार ४ सय ५६ बर्ग मिटर हाइटेक प्रविधिमा तरकारी खेती गर्ने योजना भए पनि स्थानीय १२ वटा सहकारी संस्थाहरुको समन्वयमा हाल करिब ६ सय बर्ग मिटर क्षेत्रफलमा मात्रै हाइटेक तरकारी खेती गरीएको व्यबस्थापक बाँस्तोलाले बताए । ग्रिन हाउसमा प्रयोग भएको प्लाष्टिकमा हरियो लेउ लागेर त्यसलाई सफा गर्ने प्रविधि समेत आफुहरुसंग नभएको उनले जनाए ।

बहुउद्धेश्यीय किसान सहकारी संस्था लिं.का अध्यक्ष धर्मराज बाँस्तोलाको संयोजकत्वमा हाइटेक ग्रिन हाउस स्वास्थ्य तरकारी तथा विरुवा उत्पादन गर्ने लक्ष्य रहेको छ । यस प्रोजेक्टमा देविस्थान सहकारी सहित सहकार्य बहुउद्धेश्यीय किसान सहकारी संस्था लिं., गौरी शंकर बचत तथा ऋण सहकारी, हेमजा बचत तथा ऋण सहकारी संस्था, हिमालय बचत तथा ऋण सहकारी, दियालो कृषि सहकारी संस्था, अनवरत कृषि सहकारी संस्था, कालिका कृषि सहकारी संस्था, तिव्रिकोट कृषि सहकारी संस्था, मुलपानी कृषि सहकारी संस्था, भु.पु. सैनिक कृषि सहकारी संस्था र विकल्प जडिबुटी सहकारी संस्था लिमिटेड आबद्ध रहेका छन् । उनका अनुसार उक्त प्रोजेक्टबाट प्रत्यक्ष रुपमा ३ हजार र अप्रयक्ष रुपमा १० हजार जना लाभान्वित हुनेछन् । उक्त प्रोजेक्टमा प्रति सहकारी ४ लाखको दरले ४८ लाख लगानी भएको संयोजक बाँस्तोलाले बताए । प्रोजेक्टमा २२ रोपनी क्षेत्रफलमा दुई वटा हाइटेक र अन्य जमिनमा फलफुल र तरकारी खेती भएको पनि उनले जनाए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कास्कीका कार्यालय प्रमुख वसन्त श्रेष्ठले ठुलो प्रोजेक्टमा काम गर्नेहरुले बजार हेरी बुझिकन बाली लगाउनु पर्ने बताए । हाइटेक प्रोजेक्टमा आफुहरुले सिजन अनुसारको बिउविजन दिन नसकेको स्वीकार्दै उनले व्यवस्थापनमा कमजोरी भएकोले गर्दा उत्पादित वस्तुमा किरा लाग्ने समस्या भएको दाबी गरे । एउटा ग्रिन हाउसमा धेरै बाली लगाउनाले हाइटेकमा धेरै प्रकारको रोग लाग्ने समस्या हुने गरेको उनले जनाए । उनले भने “यदि प्लाष्टिकबाट प्रष्टसँग घाम भित्र छिर्न नपाए ग्रिन हाउस भित्र लगाएका बालीमा रोग तथा किरा लाग्ने समस्या आउन सक्छ, बाली मर्न सक्छ । ” प्लाष्टिकमा हरियो लेउ लागेमा त्यसलाई धोएरै हटाउन सकिने पनि कार्यालय प्रमुख श्रेष्ठले सुझाव दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button