कास्की-२ मा १३ हजार मतान्तरले नेकपाले जित्ने अध्यक्ष थापाको दाबी

दीननाथ बराल, पोखरा न्यूज – १९, कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीका अध्यक्ष कृष्ण थापाले आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई १३ हजार ५ सय ४२ मतान्तरले विजयी हुने दावी गरेका छन्।

निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका थापाले मंगलबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै यसपालि दुबै कम्युनिष्ट एक भएकोले पहिले भन्दा थप ५ हजार मत अन्तर थपिएर आगामी निर्वाचनमा १३ हजार ५ सय ४२ मतान्तरले नेकपा विजयी हुने दाबी गरेका हुन् ।

कार्तिक २१ गते उम्मेदवार दर्ता गराउन १० हजार नेता कार्यकर्ता स्वत स्फुर्त रुपमा सहभागी हुने अध्यक्ष थापाले जनाए । उनले बिहान ११ बजे पार्टी कार्यालयबाट सुरु हुने जुलुस रत्नचोक नजिकै चुनावी आमसभामा परिणत हुने पनि जानकारी दिए । उनले भने “ स्थानीय चुनावमा हामी मिल्न सकेनौं, यसका लागि जनता समक्ष हामी क्षमा चाहान्छौंं, यसपटक हामी गठबन्धन गरेर आएका छौ, हामीलाई मत दिनुहोस हामी सुशासन दिन्छौं साथ साथै अग्रगतिको विकासलाई पनि अघि बढाउछौं । ” १२ बर्ष अघिका अपराधीलाई पनि यो सरकारले पक्राउ गरेको जनाउदै अध्यक्ष थापाले देशका अपराधीहरु अब कोही पनि उम्कन नपाउने दाबी गरे । उनले यो सरकारले सुशासनको सन्देश दिएको पनि दाबी गरे ।

निर्वाचन कार्यालयले दिएको निर्देशन भित्र रहेर २५ लाख भन्दा कम रकममा चुवानी खर्च गर्ने अध्यक्ष थापाले जनाए । उनले भने “ हामीले सकेसम्म २५ लाख भित्रै चुनाव प्रचार प्रसार गर्छौं, आफ्नो काम आफै गर्ने आफ्नो खर्च आफै गर्ने गर्दा २५ लाख पनि हाम्रो चुनावी खर्च हुदैन, कसैले आफ्नो ढंगले खर्च गर्छन् भने त हामीले भन्नु केही छैन । ”

सोमबार सम्पन्न नेकपा कास्कीको ५ औं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष थापाले विद्या भट्टराईलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति परिचालित हुने, कार्तिक २१ गते कास्की क्षेत्र नं.२ प्रतिनिधि सभा उप–निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने र जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवार दर्ता गर्न जुलुशसहित जाने, कार्तिक २३ गते निर्वाचनसँग सम्बन्धित जिल्ला स्तरिय वृहत कार्यकर्ता प्रशिक्षण भेला गर्ने भएको जनाए ।

उक्त भेलामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिब बिष्णु पौडेलको सम्वोधन हुने भएको सचिब बखानसिंह गुरुङले बताए । कार्तिक २४ गते निर्वाचन क्षेत्र नं.२ मा पर्ने ११ वटै वडा निर्वाचन परिचालन समितिको कार्यालयहरु उद्घाटन गर्ने, निर्वाचनलाई ब्यवस्थित गर्नका लागि विभिन्न समितिहरु गठन गरिएको उनले जनाए ।

नेकपा गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा रहनेगरी निर्वाचन अनुगमन तथा निर्देशक समिति गठन गर्न प्रदेश कमिटी कार्यालयलाई अनुरोध गर्ने भएको छ । त्यसै गरी कमिटीले निर्वाचन मूल कमाण्ड कमिटीमा कास्की जिल्ला ईञ्चार्ज राजकाजी गुरुङलाई संयोजक बनाउदै २ हजार ६ सय ४१ सदस्यसहितको निर्वाचन परिचालन समिति अध्यक्ष थापाको संयोजकत्वमा गठन गरेको छ ।

त्यसै गरी वडा स्तरीय निर्वाचन कमाण्ड टिमसमेत गठन भएको छ । वडा नम्बर १६ मा राजकाजी गुरुङ, ११ मा चुडामणी जंगली, ७ मा सिता गिरी ओली, ३३ मा भीम कार्की, ८ मा शारदा सुबेदी, १७ मा कृष्ण थापा, १५ मा बखानसिंह गुरुङ, ४ मा दामोदर बैरागी, ९ मा प्रभा कोइराला, २१ मा दीपक पौडेल, २० मा विश्वप्रकाश लामिछाने र ५ मा जनवर्गिय मोर्चा संगठन परिचालन कमिटी गठन भएको नेकपाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button