गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

पोखरा न्यूज – २०, कार्तिक । नवनियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मङ्गलबार शपथग्रहण लिनुभएका शेरचनले शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण समारोहमा प्रदेश प्रमुख शेरचनले राष्ट्रियता, सार्वभौमिकता तथा राष्ट्रिय अखण्डता जोगाउनका लागि सबै नेपाली एक हुनुपर्ने बताए  ।

सङ्घीयताको सफल कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता भएको औल्याउदै उनले परिवर्तित व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए । सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सङ्घीयता नेपालको मौलिकता भएको उल्लेख गर्दै उनले भने, “हाम्रो जस्तो सङ्घीयता अन्य मुलुकमा छैन, यसमा चुनौती आउन सक्दछ त्यसका लागि हामी सबै एकताबद्ध हुन जरुरी छ ।”

प्रदेशमा आगामी दिनमा सम्बद्ध सबैपक्ष र निकायसँग छलफल गर्दै साझा उद्देश्यका साथ अगाडि बढिने बताउँदै प्रदेश प्रमुख शेरचनले देश वर्तमान अवस्थासम्म आइपुग्न नेपाली जनताको महत्वपूर्ण योगदान रहेको बताए  ।

समृद्ध नेपालको चाहनालाई पूरा गर्न संविधान कार्यान्वयन जरुरी रहेको बताउँदै उनले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनअपेक्षा पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताए ।

पदभार ग्रहण समारोहमा प्रदेश प्रमुख शेरचनलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि पोखरा विमानस्थलमा उनलाई गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, सामाजिक विकासमन्त्री नरदेवी पुन, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारीलगायतले स्वागत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button