बागलुङमा उपनिर्वाचनका लागि १० जनाको मनोनयन दर्ता

पोखरा न्यूज – २१, कार्तिक ।  बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि दश जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिएका छन ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

पहिलो मनोनयन दर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गरेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि अपराह्न १ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको थियो ।

शर्माका अनुसार उम्मेदवार नामावलीको सूची पनि प्रकाशन भइसकेको छ । भोलि उम्मेदवारको विरोधमा उजुरी, २३ गते उजुरीमाथि जाँचबुझ र नामावली प्रकाशन, २४ गते उम्मेदवारको नामावली फिर्ता र अन्तिम नामावली प्रकाशन, २५ गते निर्वाचन चिन्ह प्रदान र मङ्सिर १४ गते मतदानको कार्यक्रम छ ।

बागलुङमा प्रदेशसभासँगै बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडाध्यक्षको उपनिर्वाचनको लागि यही कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । गाउँपालिकाको केन्द्रमा बुधबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

बागलुङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख बनेपछि उक्त वडामा उपचुनाव हुने भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button