न्युजिल्यान्डमा पास भयो शुन्य कार्बन उत्सर्जन विधेयक

पोखरा न्यूज – २१, कार्तिक ।   न्युजिल्यान्डका विधायकहरुले मौसम परिवर्तनसँग जुध्न सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शुन्य बनाउने लक्ष्यका साथ जिरो कार्बन नामक एक विधेयक पास गरेका छन् ।

जिरो कार्बन बिलले ग्रीनहाउस ग्यास उत्सर्जन घटाएर सन् २०५० सम्म न्युजिल्यान्डलाई कार्बन शून्य बनाउने लक्ष्य लिएको छ । सरकारले पेस गरेको उक्त बिललाई विपक्षी कन्जरभेटिभ पार्टीले पनि समर्थन गरेपछि पास भएको थियो । न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले बिलको पक्षमा बोल्दै विश्वका जिम्मेवार राष्ट्रहरु मौसम परिवर्तन र भुमण्डलीय उष्मीकरणजस्ता समस्याप्रति निराशावादी बनेको बताउँदै न्युजिल्यान्डले नै यी विषयमा विश्वको नेतृत्व गर्ने उद्घोष गरेकी थिइन् ।

आर्डेनले भनिन्, ” भुमण्डलीय उष्मीकरण यथार्थ हो र त्यसैले गर्दा हामी यहाँ उपस्थित भएका हौँ र हामीले तय गर्नुछ हामी इतिहासको कुन तप्कामा उभिएका हुनेछौँ ।” त्यस्तै न्युजिल्यान्डका मौसम परिवर्तन मन्त्री जेम्स सले न्युजिल्यान्डले पहिले पनि आणविक निशस्त्रीकरण र महिला सशक्तीकरण जस्ता मुद्दामा नेतृत्वदायी भुमिका निर्वाह गरेकोमा मौसम परिवर्तनलगायतका मुद्दामा पनि अगाडि बाटै भुमिका निभाउने बताएका थिए । उनले जिरो कार्बन बिलले भावी सन्ततिलाई एक सुरक्षित पृथ्वी हस्तान्तरण गर्न सहयोग गर्ने पनि उल्लेख गरेका थिए ।

बिलमा २०५० सम्म मिथेनबाहेक सबै हरितगृह ग्यासको उत्सर्जन शुन्य बनाउने उल्लेख गरिएको छ । त्यस्तै गाईवस्तुको डकार र पेटको ग्यासबाट मुख्य रुपमा उत्सर्जित हुने मिथेनलाई पनि २०३० सम्म १० प्रतिशतले घटाउने र २०५० सम्म एक चौथाईले कमी ल्याउने पनि उल्लेख गरिएको छ । ५० लाख जनसंख्या भएको न्युजिल्यान्डमा १ करोड गाई र २ करोड ८० लाख भेडा छन् ।

बिलले सन् २०१५ मा भएको पेरिस सम्झौतामा न्युजिल्यान्डको प्रतिबद्धता पूरा गर्न पनि सहयोग पुर्याउनेछ । पेरिस एकर्डबाट अमेरिकाले यस अघि हात झिकेको थियो । पेरिस मौसम सम्झौतामा विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा कायम राख्ने र कार्बन उत्सर्जन गर्ने ठुला देशहरुले कार्बन उत्सर्जन घटाउन राष्ट्रिय दृढता योजना बनाएर त्यसलाई पूरा गर्न विशेष योगदान दिनुपर्ने जस्ता बुँदाहरु उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button