नेपाली भूमि भारतीय नक्सामा पारेको विषयमा गम्भीर आपत्ति छ : अध्यक्ष प्रचण्ड

पोखरा न्यूज – २१, कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि लिपुलेकलाई भारतले आफ्नो नक्साभित्र पारेको विषय सह्य हुन नसक्ने बताएका छन् ।

भौगोलिक अखण्डाको विषयमा नेपाली एकजुट रहेको बताउदै अध्यक्ष प्रचण्डले लिपुलेक नेपालको भएकाले नेपाली भूमि भारतीय नक्सामा पार्ने विषय आफुहरुलाई सह्य हुन नसक्ने बताएका हुन् । नेकपा कास्की–प्रचारप्रसार उपसमिति, निर्वाचन परिचालन उपसमितिद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यस  विषयमा सरकारको पनि धारणा आइसकेकाले कूटनीतिक माध्यमबाट यसलाई सच्याउनुपर्ने विषयमा जोड दिए । उनले भने, “भारत भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष लिपुलेकको विषयमा कुरा उठाएको थिए र अहिले भारतले नक्सामा पारेको विषयमा हाम्रो गम्भीर आपत्ति छ ।”

अध्यक्ष प्रचण्डले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा जोड दिंदै स्वस्थ्य प्रतिस्पर्धाको माध्यमबाट लोकतान्त्रिक अभ्यासको रुपमा निर्वाचन सम्पन्न हुनुपर्ने बताए। अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता र समृद्ध नेपालको निर्माणका लागि यो उपनिर्वाचन खुड्किलो हुने उल्लेख गरे  ।

उपनिर्वाचनका लागि मुलुकका विभिन्न स्थानमा उत्साहवद्र्धक ढङ्गले मनोनयन दर्ता भएकाले निर्वाचन पनि उत्साहका शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने उनले विश्वास व्यक्त गरे। उनले कास्की क्षेत्र नं २ बाट नेकपाका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई एकजुट भएर प्रचारप्रसारमा जुट्न आह्वान गर्दै कास्की क्षेत्र नं २ लगायत अन्य प्रदेशसभा सदस्यको निर्वाचनको उम्मेदवार सर्वसम्मत रुपमा छनोट भएको जानकारी गराए ।

तत्कालीन कास्की क्षेत्र नं २ का सांसद रवीन्द्र अधिकारीप्रति श्रद्धासुमन अर्पन गर्दै अध्यक्ष प्रचण्डले कास्की नेकपाको क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई निर्वाचनमा सफलताको कामना गरे ।

प्रदेश प्रमुखलाई हटाइएको सन्दर्भमा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन भएपछि नैतिकरुपमा राजीनामा गर्नुपर्ने नगरिएको एवं राजनीतिक संस्कार प्रदर्शन गर्नुपर्ने नगरिएको उल्लेख गर्दै दुई तिहाइको सरकारले उदार र लचिलो भएको कारणले दुई वर्ष परिवर्तन नगरेको स्पष्ट पारे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button