ब्राजिलका पूर्वराष्ट्रपति जेलमुक्त हुने सम्भावना !

पोखरा न्यूज – २२, कार्तिक । ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका वामपन्थी राजनीतिज्ञ एवं पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ ।

फौजदारी मुद्दामा पहिलो सुनुवाई हुँदा कुनै व्यक्ति हारेमा पनि त्यस्तो अभियोग प्रमाणित नहुँदासम्म जेल जानैपर्ने यसअघिको फैसला अदालतले उल्ट्याएको छ । यही आधारमा नेता लुला तत्कालका लागि जेलमुक्त हुनसक्ने अड्कलबाजी गरिएका छन् ।

लुलाका वकीलहरुले पूर्व राष्ट्रपति लुलाको तत्काल रिहाईका लागि पहल गरिने बताएका छन् । लुलाका कानुन व्यवसायीहरुले जारी गरेको वक्तव्यमा पूर्व राष्ट्रपति लुलाले कुनै गलत कार्य नगरेको र कानुनी जालोबाट पीडित मात्र बनाइएको जिकिर गरेका छन् । उनीहरुले लुलाको राजनीतिक जीवन समाप्त पार्न कानुनी अडचन झिकेर फसाइएको दाबी गरेका छन् ।

सर्वोच्च अदालतमा नयाँ आदेशको पक्ष र विपक्षमा न्यायाधीशहरु बाँडिएका थिए । मतविभाजनका आधारमा गरिएको निर्णयमा तीन वर्ष पहिलेको आदेशलाई उल्ट्याउने पक्षमा ६ र विपक्षमा ५ मत परेको थियो । “कार वास” नामको एक अनुसन्धानमा पूर्व राष्ट्रपति लुलाको संलग्नता रहेको र भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

अदालतको आदेश जेजस्तो भए पनि अभियोजनकर्ता सरकारी वकीलहरुले लुला विरुद्धको भ्रष्टाचार छानबिनलाई निरन्तरता दिने बताएका छन् । आमजनताले पनि ब्राजिलमा मौलाएको भ्रष्टाचारका कारण दैनिक जीवन कष्टकर बनेको तथा राष्ट्रको प्रतिष्ठा रसातलमा पुगेको भन्दै आक्रोश पोख्दै आएका छन् ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोजे एन्टोनियो डायास टोफोलीले नयाँ आदेशको पक्षमा मतदान गरेका थिए , यद्यपी ठूलो संख्याका राजनीतिक नेताहरुले सर्वोच्चको पूर्व निर्णयलाई यथावत राख्न अनुरोध गरेका थिए ।

अदालतले यही प्रकृतिका मुद्दामा जेलजीवन व्यतित गरिरहेका पाँच हजारभन्दा बढीको सुनुवाई गर्नु पर्नेछ । तर हिंसात्मक अपराधमा दोषी ठहर भएका व्यक्तिका सन्दर्भमा भने यो आदेश कार्यान्वयनमा आउने छैन ।

सर्वोच्च अदालतमा नयाँ आदेशको विपक्षमा मतदान गरेका न्यायाधीश लुइस रोबर्टो बारोसोले पछिल्लो व्यवस्था गरिबका लागि नभई धनीहरुका लागि फलदायी हुने दाबी गरे ।

लुलाले स्थापना गरेको वर्कर्स पार्टीका सभापति ग्लेसी होफमानले क्रुरताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले आफूहरु न्यायका लागि भएको संघर्षलाई निरन्तरता दिने र सत्यको अवश्य विजय हुनेछ भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button