पोखरामा महानगर स्तरिय विद्यालय नाटक महोत्सव हुने

आर.आर.पौडेल,पोखरा न्यूज – २३, कार्तिक । पोखरा थिएटर पोखराले महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ को आयोजना गर्ने भएको छ । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ नाटक महोत्सव आयोजना गर्न लागिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । माघ ६ देखि १० गतेसम्म आयोजना हुने महोत्सव ५ दिनको हुनेछ । हरेक दिन २ विद्यालयका नाटक मञ्चन हुनेछन् । प्रतिष्पर्धा हुने छैन ।

महोत्सवको पहिलो दिन सहभागी विद्यार्थीहरुले आफ्नो विद्यालयको भेषभुषामा सहभागीता जनाउनु पर्नेछ । महोत्सवमा पोखरा महानगर पालिका भित्रका १० विद्यालयलाई छिनोट प्रक्रिया पार गराई सहभागी गराउने थिएटरको तयारी छ । महोत्सवमा पोखरा महानगर पालिका भित्रका १० वटा विद्यालयहरु सहभागी हुनेछन् । प्रत्येक विद्यालयले विद्यार्थी ,शिक्षक, निर्देशक, प्राविधिक गरि बढिमा १५ जनासम्मको समुह बनाउनु पर्नेछ । नाटक नेपाली भाषमा हुनुपर्ने छ । सांकेतिक भाषाको पनि प्रयोग गर्न पाइने छ । बढिमा कक्षा १० सम्मका बालबालिकाहरुलाई अभिनयमा समावेश गर्नुपर्ने छ । लेखन, निर्देशन भने जोसुकैले गर्न सक्ने थिएटरले जनाएको छ ।

नाटक कम्तीमा ४० मिनेटदेखि बढीमा ६० मिनेटसम्मको हुनुपर्नेछ । नाटकको विषयवस्तु कुनै पनि जाति, सम्प्रादय, धर्म, सस्कृतिको मुल्य मान्यतालाई खलल पार्ने खालको हुन पाइने छैन । नाटकको लागि चाहिने सरसामान, मञ्च सामाग्री, भेषभुषा, आफैँले बन्दबस्त गर्नु पर्नेछ । थिएटरमा प्राविधिकहरु आयोजकले उपलब्ध गराउने छ । प्रत्येक विद्यालयलाई मञ्च व्यवस्थापनका लागि १ घण्टाको समय दिईने छ । मञ्चमा रिहर्षल तालिका पछि प्रदान गरिने छ ।

कथावस्तु, विद्यार्थीको नाम र प्रस्तुतीको फोटो, भिडियो मंसिर महिनाको १५ गतेभित्र बुझाईसक्नु पर्नेछ । आवेदन ईमेलमार्फत पठाउन सकिने छ । छनौट समितीबाट मंसिर महिनाको मसान्तरभित्र नाटक छनोट गरिसकिने छ । आयोजकले नाटकको पुर्वाअभ्यास अवलोकन गर्नेछं । नाटकको लागि लाग्ने सम्पुर्ण खर्च सहभागी विद्यालय आफैँले व्यहोर्नु पर्नेछ । नाटक मञ्चनको दिनमा सहभागी समूहलाई खाजा, खानाको व्यवस्था गरिने छ । सहभागी सम्पूर्ण टिमलाई मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिने थिएटर अध्यक्ष परिवर्तनले जनाए । महोत्सवमा सहभागीता जनाउन इच्छुकले आगामी मंसिर १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

थिएटरले यसअगाडी पनि विभिन्न किसिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवहरु सफलताका साथ आयोजना गरिसकेको छ । पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव (२०७५ फागुन १५ देखि २२) राष्ट्रिय नाटक महोत्सव (२०७४ चैत्र ७ देखि १४ ) तथा विभिन्न समयमा विभिन्न खालका नाट्य महोत्सव तथा नियमित नाटक मञ्चन गर्दै आएको छ ।

नेपाली रंगमञ्चमा बालबालिका केन्द्रित गतिविधि नगन्य मात्रामा हुदै आइरेहको सन्र्दभमा महोत्सव आयोजना गरी नयाँ पुस्ताको आर्कषण नाट्य क्षेत्रमा थप्ने थिएटरको तयारी भएको थिएटर सञ्चालक मध्येका एक दिल प्रसाद गुरुङ्गले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button