
पोखरा न्यूज –२२, कार्तिक । भारतले हालै जारी गरेको नक्सा एकपक्षीय भएको भन्दै राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिका महासचिव सुनिल पाण्डेले भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पोयाधुरीलाई आफ्नो भुभागमा मिसाएको भन्दै उक्त कदमको समितिले घोर भर्त्सना गरेको बताउँदै आज एक विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा दुई देशबीच सुल्झिन बाँकी सीमासम्बन्धि विषय कुटनीतिक माध्यमबाट सुल्झाउनको साटो भारतले एकलौटी निर्णय गरेको आरोप लगाइएको छ ।
समितिले मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यस मुद्दामा नेपाल सरकार, प्रतिपक्षी दलहरु तथा सबै नेपाली नागरिकलाई एकसाथ उभिन आह्वान गर्दै यथासिघ्र कुटनीतिक पहल मार्फत नेपाली भुभागलाई भारतको नक्साबाट हटाउन पनि माग गरेको छ ।






