पर्वतमा ५ करोड लागतमा निर्माणाधीन कोल्डस्टोर ३ वर्षदेखि अलपत्र

पोखरा न्यूज- २५ कार्तिक । किसानको उत्पादन १२ महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र ३ वर्षदेखि अलपत्र परेको हो ।

गाउँपालिकाले भने रु ५ करोड लागत मूल्याङ्कन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ ।
जिल्लाका किसानले उत्पादन गरेको आलु, सुन्तला, तरकारी, खाद्यान्नलगायत स्टोर गर्ने योजनाअनुरूप तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पालामा ०७३/०७४ मा निर्माण थालिएको थियो । कोल्डस्टोर बनाउन मोदी–२ देउपुरका खेमबहादुर हमालले जग्गा दिएपछि तत्काल ५ आना जग्गामा भवन निर्माण शुरु गरिएको हो ।

निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार शुरुको वर्ष रु ५० लाख विनियोजन भए पनि २४ लाख बजेट आयो । “बजेट विनियोजन भएपछि काम थाल्यौँ”, उनले भनिन, “लागत मूल्याङ्कनअनुसार बजेट नआएपछि काम अघि बढेन । अपुग बजेट माग्ने दबाब पुगेन ।” २ तले चिस्यान केन्द्र निर्माणको काम १ वर्षमा सक्ने लक्ष्य थियो । तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलान गरिएपछि अलपत्र छ ।

अहिले भवनको भुइँ तल्लामा स्थानीयले घाँस, पराल राखेर उपयोग गरिरहेका छन् । भवनको बाहिरी भागमा ठडिएका रड हिउँदे र वर्षे तरकारीका लागि थाँक्राका रूपमा प्रयोग गरिएको छ । भवन बेवारिसे भएपछि ढलान र प्लास्टरसमेत काम नलाग्ने भएको छ । समयमै सम्पन्न भएको भए प्रयोगमा आइसक्ने भवन अलपत्र हुँदा उपयोग गर्न नपाएको गुनासो स्थानीयको छ । देउपुर जिल्लामै धेरै सुन्तला उत्पादन हुनेमा दोस्रो गाउँ हो ।

यहाँ वर्षेनी तीन करोडको सुन्तला उत्पादन हुन्छ । मौसममा रु ३० देखि ४० प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके १ सय ५० मा बिक्री हुने किसानले बताएका छन् ।

विज्ञले कोल्डस्टोरको न्यूनतम मापदण्डसमेत पूरा नगरी भवन निर्माण भएकाले सम्पन्न हुन समस्या देखिएको बताउँछन् । कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख एवं कृषि विज्ञ वासुदेव रेग्मीले भवनको क्षेत्रफलअनुसार क्षमता कम हुने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button