बेसहारा मानिसको सहारा बन्दै मानवसेवा आश्रम

पोखरा न्यूज- २५ कार्तिक ।  दिनरात कठिन जीवनयापन गरिरहेका बेसहारा मानिसलाई विराटनगरमा उद्धार शुरु गरिएको छ ।

बेसहारा सडक मानवमुक्त नगर बनाउने अभियानअनुरुप सडक पेटी, गल्ली बस्ने यस्ता मानिसले अब नयाँ जीवन पाउने भएका छन् । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा भर्खरै स्थापना भएको मानवसेवा आश्रमस्थलमा अहिले आठ जना बेसहारा मानिसलाई उद्धार गरेर उनीहरुलाई उचित बास, खाना र उपचारको प्रबन्ध मिलाइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए  ।

विराटनगर महानगरपालिकाको ट्राफिक चोकस्थित नमस्कार होटलको अगाडि विगत दुई वर्षदेखि मागेर जीवनयापन गरिरहेका नाम र ठेगाना खुल्न नसकेका एक मानिसलाई आइतबार उद्धार गरिएको छ । यी मानिस केही वर्षअघि तिनटोलियामा लगभग १० वर्ष वरपर मागेर जीवन बिताएको स्थानीय धनसुन्दर प्रधानले बताए ।

बेसहारा ती मानिसलाई उद्धार गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई अगामी मङ्सिर महिनाभित्रमा बेसहारा सडक मानवमुक्त बनाउने घोषणा गरे । उनले बेसहारालाई उद्धार गरेर नयाँ जीवन दिन पाउँदा निकै खुशी लागेको र जीवनमा योभन्दा पुण्यको अरु काम हुन नसक्ने विचार व्यक्त गरे ।

उनले आइतबार विराटनगरस्थित ग्लोबल बैंकको अगाडिबाट एक मानसिक रोगी बेसहारा महिलालाई उद्धार गरेर आश्रमलाई जिम्मा लगाए । उद्धारमा प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सञ्चारकर्मी र आश्रमका टोली संलग्न थिए ।

आश्रमले प्रदेशभरिमा यो अभियान लागू गर्ने र कुनै पनि बेसहारा मानिसले उचित रेखदेख, खाना, बास र स्वास्थ्यको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने अभियान थालेको अध्यक्ष अधिकारीको भनाइ छ ।

केही वर्ष पहिले धनकुटामा ओभरसियर पढ्दै गरेकी एक युवतीको मानसिक सन्तुलन बिग्रिन गएपछि पढाइ छाडेको अवस्थामा उहाँ माथि सामूहिक बलात्कार पछि गर्भ बोकेर अहिले नानीसहित आश्रममा रहेको बताइएको छ ।  सो आश्रममा १०० जना मानिसलाई व्यवस्थापन गर्न सकिने र यसभन्दा बढी भएमा महानगरपालिकाले जग्गा खोजेर एक व्यवस्थित भवन बनाइदिने आश्वासन प्राप्त भएको अध्यक्ष अधिकारीले जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button