कास्की-२ मा चुनावी प्रचारप्रसार तीव्र

पोखरा न्यूज- २५ कार्तिक । कास्की क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तीव्र भएको छ । उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक भएपछि चुनावी प्रचार प्रसारले तीव्रता लिएको हो ।

आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका उम्मेदवारहरु मतदातालाई आकर्षित पार्नका लागि घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेर प्रचार कार्यलाई अघि बढाएको देखिन्छ ।

उम्मेदवारहरु घरघरमा पुगेर मतदाताबीच आफू सांसदमा निर्वाचित भएपछि जनताको सेवामा समर्पित भएर काम गर्ने र सदैव सुखदुःखमा साथ दिने प्रतिबद्धता प्रकट गरिरहेको देखिन्छन् । प्रायः सबै उम्मेदवारले पोखराको पर्यटकीय क्षेत्रका रुपमा अन्तर्राष्ट्रियस्तर पहिचानमा थप वृद्धि गर्ने, बेरोजगारी, सुकुम्वासी, नदी नियन्त्रण लगायतका समस्या समाधान गर्ने सम्बन्धमा मतदातासमक्ष वाचा गर्दै मत माग्ने कार्यमा जुटेको देखिन्छन् ।

निर्वाचनमा सहभागी भएका राजनीतिक दलका कार्यकर्ताहरु चुनावी घोषणापत्रबारे मतदातालाई जानकारी गराउनाका साथै पर्चा, पम्प्लेट वितरण कार्यमा जुटेका छन् । स्वतन्त्र पक्षका उम्मेदवारका कार्यकर्ता पनि आफ्ना उम्मेदवारलाई जिताउनका लागि प्रचारप्रसारमा जुटेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी लगायतका दलले चुनाव प्रचारप्रसार समिति गठन गरेका छन् । स्वतन्त्र उम्मेदवारले पनि चुनावी प्रचारप्रसारका लागि समिति गठन गरेका हुन् ।

कास्की क्षेत्र नं २ मा १० स्वतन्त्रसहित २१ जना चुनावी मैदानमा छन् । सोमध्ये चार महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट विद्या भट्टराई , राप्रपा संयुक्तबाट गङ्गा मल्ल र  स्वतन्त्र रुपमा लक्ष्मीकुमारी भुजेल र जमुना शर्मा छन । उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरका काङ्ग्रेसका ७४ वर्षीय खेमराज पौडेल र कान्छो उम्मेदवारका रुपमा २६ वर्षीय सुनील भुसाल छन । उनी स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी भएका हुन् ।

कास्की क्षेत्र नं २ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा मिलाएर बनेको सो निर्वाचन क्षेत्रअन्तर्गत–४, ७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ वडा पर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button