मह र मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा

पोखरा न्यूज- २६ कार्तिक । जाजरकोटको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् ।

विभिन्न प्रजातिका रैथाने मौरीहरुको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुगेका हुन्  । बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत गाउँका स्थानीयवासीसँग अन्तरक्रियासमेत गरेका छन् ।

मौरीविज्ञसमेत रहेका रुडीले मौरीपालक किसानलाई दिनुपर्ने शिक्षा, मह र मौरीको निरीक्षण गर्ने प्रणालीको व्यवस्था तथा विकास, मह काढ्ने तरिका, महमा रहेको पानीको मात्रालाई व्यवस्थापन गर्ने तरिका, मह खरीदको अभिलेखीकरण व्यवस्थापन, मह प्रशोधन विधि र मह भण्डारणमा तापक्रमको व्यवस्थापनबारे किसानसँग अन्तरक्रिया गरे । यसैगरी महमा एचएमएफ बढ्ने अवस्था र त्यसको मात्रा मिलाउने तरिका, मूल्य निर्धारण, मह लेवलिङ र रानी मौरी उत्पादन गर्ने तरिकाका विषयमा पनि उनले किसानसँग अन्तक्र्रिया गरे ।

विगत ३५ वर्षदेखि सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीले उत्पादन गरेको महले विश्व पुरस्कार जित्न सफल भएको बताइएको छ । मेलिफेरा प्रजातिको मौरीपालन उद्योग सञ्चालन गरिरहेका ७३ वर्षीय रुडीले कल्पतमा रैथाने सेराना, कठ्यौरी, पुतुका र भिरमौरीको वासस्थान र महको अवलोकन गरेका थिए ।

सेराना मौरीसँगै कठ्यौरी र पुतुका मौरीको उपयुक्त वासस्थान भएको पाली र कल्पतको पारस्थितिकीय प्रणाली सन्तुलित रहेको मौरीविज्ञ रुडीले बताए । सेराना, कठ्यौरी, पुतुका र भिर मौरीको अवलोकन गर्न विश्वका पर्यटक यहाँ आउन सक्ने उच्च सम्भावना रहेको पनि उनले बताए  ।

मौरीमैत्री वातावरण बनाई राख्नुपर्ने उल्लेख गर्दै उनले भिर मौरीको संरक्षणमा जोड दिए । रैथाने प्रजातिभित्र पर्ने सेराना मौरीपालन गरिरहेका पालि र कल्पतका किसानले रानीमौरी उत्पादन गर्ने सीप सिक्ने इच्छा राखेमा अर्को पटक आफू नेपाल आएको समयमा कल्पतमै पुगेर तालीम दिन सकिने रुडीले बताए ।

नगरपालिकाको आयोजनामा मौरीविज्ञ रुडी रेप्काले पाली कल्पतका अगुवा किसानलाई रानीमौरी उत्पादनसम्बन्धी तालीम दिने व्यवस्था मिलाउने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । अन्तरराष्ट्रिय बजारको मापदण्डलाई पूरा गर्नसकेमा महको बजारीकरणमा कुनै समस्या नहुने कीट विकास केन्द्रका प्रमुख हरिहर अधिकारीले बताए ।

मौरीपालन व्यवसायले किसानको आधुनिक खेती प्रणालीमा बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउन सहयोग पुग्ने विज्ञले बताउँदै आएका छन् । मौरीको परागसेचनले बाली उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउने भएको हुँदा मौरी व्यवसायको महत्व किसानका लागि निकै माथि रहेको छ ।

आधुनिक मौरीपालन व्यवसायबाट महलगायत मैन, शाही खुराक, कुट, खोटो, प्याकेज, मौरीगोला जस्ता उपजको उत्पादन, महको गुणस्तर, मूल्य शृङ्खला तथा बजार व्यवस्थापन, मौरीपालनका लागि संस्थागत विकास आदिजस्ता महत्व रहेका छन् ।

मौरीपालन व्यवसायमा आफूले हासिल गरेका अनुभव, समस्या र चुनौतीका विषयमा स्थानीय किसानले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कृषि विभागअन्तर्गत रहेको कीट विकास केन्द्रका प्रमुख तथा सहसचिव हरिहर अधिकारी, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावललगायतका व्यक्तित्वको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button