
कमल खत्री , पोखरा न्यूज- २६ कार्तिक । म्याग्दीको धौवलागिरि गाउँपालिका– २ लुलाङमा एक सुत्केरी आमाको मृत्यु भएको छ । लुलाङ निवासी ३० बर्षिया सतिकला विकको सुत्केरी भएको १२ घण्टा नबित्दै मंगलबार दिउसो मृत्यु भएको हो ।
गएराति १२ बजेर ५३ मिनेट समयमा विकले लमसुङ स्वास्थ्य चौकीमा सामान्य सुत्केरी भएर छोराको जन्म दिएकी थिइन । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य भएपछि घरपरिवारको आग्रहमा विहान ४ बजे विकलाई स्ट्रेचर मार्फत स्वास्थ्य चौकीबाट घर लगिएको थियो ।
घरमा पुगे पछि सुत्केरी विकको स्वास्थ्यमा गम्भिर समस्या आएर बेहोस हुन पुगेका थिइन । बेहोस अवस्थामा रहेकी विकलाई स्थानीयले स्ट्रेचरमै बोकेर दिउँसो पुन स्वास्थ्य चौकीमा पुर्याएपनि उनको उपचारकै क्रममा मृत्यु भएको धौवलागिरि गाउँपालिका २ का वडाअध्यक्ष गमप्रसाद विकले जानकारी दिए ।
स्वास्थ्य चौकीमा ल्याएकी विकको स्वास्थ्य अवस्था गम्भिर बनेको र गाउँपालिकाको समन्वयमा पोखरा रिफर गर्ने तयारी गर्दागर्दै विकको मृत्यु भएको स्वास्थ्य चौकीकी अनमी मिठु पाईजाले जानकारी दिइन् ।
भौगोलिक रुपमा विकटता रहेको लुलाङमा सुत्केरी आमा गम्भिर विरामी भए लगतै स्वास्थ्य चौकीको प्राप्त जानकारी अनुसार गाउँपालिकाले गण्डकी प्रदेश सरकारको समन्वयमा हेलिकप्टर मार्फत उद्धारको तयारी गरेको थियो । गाउँपालिका अध्यक्ष पुनले सुत्केरी आमाको निधनले दुखि तुल्याएको बताइन् ।
“जनचेतनाको अभावले सानै उमेर धेरै बच्चा जन्माउने समस्या छ, उद्धारको लागि हामीले पहल गर्दै थियौँ । पोखराबाट हेलिकप्टर उड्दै गर्दा यता आमाको ज्यान गयो ।” अध्यक्ष पुनले भनिन् । यसअधि विकले ४ ओटा सन्तानको जन्म दिएकी थिईन ।





