जनताका अधुरा सपना पूरा गर्न प्रतिबद्ध भएर लाग्छु- नेकपा उम्मेदवार भट्टराई

पोखरा न्यूज – २७, कार्तिक ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा-९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे ।

चुनावी अभियानका क्रममा वडाका विभिन्न ठाउँमा बुधबार उम्मेदवार विद्या भट्टराई पुगिन् । नेकपाले उपनिर्वाचन हुने कास्कीको पोखरा महानगरका- ११ वटै वडामा विभिन्न कार्यक्रम गरिरहेको छ । विद्यालाई ९४ वर्षीया बालकुमारी पराजुलीले विजयको शुभ कामना दिइन् । पोखरा बसपार्कको कार्यक्रममा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले विकास, निर्माणका कामको नेतृत्व नेकपा सरकारले गर्ने र शुरु भएका काम पनि छिट्टै पुरा हुने प्रतिबद्धता गरे । उनले भने, ‘नयाँ योजना पनि नेकपा सरकारले अगाडि बढाउँदैछ । निर्माण हुँदै गरेका योजना चाडै बन्न पनि नेकपालाई नै मत दिनुस् ।’

वडा नं. ९ का न्युरोड, नयाँबजार, साँघुकोमुख, शान्तिवन, बसपार्क, शुभकामना टोल लगायत विभिन्न ठाउँमा सभा भएका छन् । उम्मेदवार विद्याले जनताका अधुरा सपना पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताइन् । ‘३ तहका सरकारसँग समन्वय गरी विकासका कामको अगुवाइ गर्नेछु,’ उनले भने । विद्याको चुनावी घरदैलो अभियान बुधबार पोखरा- ९ भीमसेनचोक स्थित सहिद भीमसेन दाहालको शालिकमा माल्यार्पण गरी सुरू भएको छ ।

पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारीले नेकप भूमिहीनहरु र आम श्रमजीवीको पार्टी भएको बताएका छन् । साँघुमुखमा आयोजित कोणसभामा नेता अधिकारीले १ वर्षभित्रै सबै भूमिहीनले भूमिको स्वामित्व प्राप्त गर्ने बताए ।

चुनावी कार्यक्रम अन्तर्गत पोखरा-१५ अमिनतारा टोलमा घरदैलो तथा कोणसभा भएको छ । कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमुले जनताको अधिकारका लागि लड्ने उम्मेदवारको जित निश्चित भइसकेको बताए । कार्यक्रममा पोखरा- १५ का अध्यक्ष प्रकाश पौडेलले वडाले टोल टोलमा गरेका विकाश निर्माण गतिविधिबारे जानकारी गराएका थिए ।

पोखरा -१७ मा विभिन्न भेगलाई समेटने गरी नेकपाले ४ वटा निर्वाचन परिचालन कार्यालय स्थापना गरेको छ । निर्वाचन अभियानलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको नेकपा १७ अध्यक्ष सुवास ढुंगानाले बताए । कार्यालय उद्घाटन नेकपा कास्की अध्यक्ष कृष्ण थापाले विकास प्रेमी नेता रवीन्द्र अधिकारीले देखेका सपना साकार पार्न विद्या भट्टराई अधिकारीलाई सर्वसम्मत उम्मेदवार बनाइएको उल्लेख गरे । उनले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम प्रचार गर्दै मतदातामाझ पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य राधिका शाही योगी, सुवर्ण श्रेष्ठ र ओमबहादुर हमाल, मजदुर नेता रुद्र खत्री, पोखरा १७ का वडाध्यक्ष तीर्थ अधिकारी, भुवानी भट्टराई, पार्टी वडा सचिव ईश्वरीप्रसाद लम्साल लगायतले बोलेका थिए ।

उपनिर्वाचन लक्षित गरी नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ अभियानमा जुटेको छ । कमिटीले बाटुलेचौरमा कार्यकर्ता भेलाको आयोजना गर्यो । भेलामा नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले पार्टीको प्रमुख लक्ष्य देशको समृद्धि रहेको बताए । उनले कृषि क्षेत्रमा आधुनिकीकरण गरी युवालाई रोजगारी सिर्जना गरिने जनाए ।

नेकपा उम्मेदवार भट्टराईले समृद्घ नेपालको सपना साकार पार्न पनि आफू चुनावी मैदानमा उत्रिएको बताइन् । कार्यक्रमा वडा कमिटी अध्यक्ष जेएन तिमिल्सिना, महानगर कमिटी अध्यक्ष दीपक पौडेल, पोखरा- १६ का वडाध्यक्ष जीवन आचार्य, निर्वाचन परिचालन कमिटी संयोजक निर्मल आचार्य, सदस्य सीता आचार्य लगायतले बोलेका थिए ।

उपनिर्वाचनका लागि नेकपाको आदिवासी जनजाति महासंघ नेपालले जिल्ला निर्वाचन मूल कमान्ड समिति तथा जिल्ला निर्वाचन परिचालन समिति अन्तर्गत आदिवासी जनजाति परिचालन उपसमिति गठन गरेको छ ।

मंगलबार भएको भेलाले चेतबहादुर गुरुङको संयोजकत्वमा १ सय १ सदस्यीय आदिवासी जनजाति परिचालन उपसमिति गठन गरेको छ । सहसंयोजकमा रामबहादुर थापा, सचिवमा लालबहादुर राना, सहसचिवमा दिलीप श्रेष्ठ र कोषाध्यक्षमा राजकुमारी भुजेल छन् । भेलाले आदिवासी जनजाति महासंघ नेपालका नेता झकबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति र अर्का नेता लोकबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

भेलामा निर्वाचन मूल कमान्ड संयोजक राजकाजी गुरुङले नेपालका हरेक राजनीतिक परिवर्तनमा आदिवासी जनजाति समुदायले उल्लेखनीय योगदान गरेको जनाए । उनले आदिवासीको संकल्प र सपना नेकपाले मात्र पूरा गर्न सक्ने दाबी गरे । नेकपा कास्की सहइन्चार्ज श्रीनाथ बरालले घरदैलो अभियानमा आदिवासी जनजाति समुदायले विशेष भूमिका खेल्नुपर्ने विचार राखे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button