स्व. रवीन्द्र अधिकारीको समृद्धिको अधुरो सपना पूरा गर्छु – उम्मेदवार भट्टराई

पोखरा न्यूज – २७, कार्तिक । स्व. रवीन्द्र अधिकारीको अधुरा सपना पूरा गर्ने प्रतिबद्धता बोकेर चुनावी अभियानमा होमिएकी उनकी धर्मपत्नी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की -२ की उम्मेदवार विद्या भट्टराईलाई जिताउनुपर्ने पोखरा – ७ को घरदैलोमा स्थानीयले  बताएका छन् ।

पोखराको नयाँबजारस्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा आशीर्वाद ग्रहण गर्दै सुरु भएको चुनावी प्रचार कार्यक्रम पोखरा वडा ७ अन्तर्गत बिहान प्रगतिनगर, प्रगतिटोल, राधाकृष्ण टोल, घारीपाटन र तीनकुने लगायत क्षेत्रमा सम्पन्न भएको बताइएको छ ।

सो क्षेत्रमा  उम्मेदवार विद्या पुग्दा ८६ वर्षीया कृष्णमाया पराजुली वडा नं. ७ र १५ जोड्ने पक्की पुल स्व. रवीन्द्र अधिकारीले शिलान्यास गरेको कुरा सम्झिँदै भक्काइनिइन् ।

घरदैलोपछि राधाकृष्ण मन्दिरमा भएको चुनावी सभामा बोल्दै उम्मेदवार विद्याले स्व. रवीन्द्र अधिकारीको समृद्धिको अधुरो सपना पूरा गर्ने प्रतिबद्धता सहित आएको बताइन् । उनले पोखरा चक्रपथ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायत महत्वपूर्ण कार्यको पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाइन् ।

उनले समाजमा व्याप्त असमानताको अन्त्य गर्दै सुकुम्बारीलाई रातो लालपुर्जा दिलाउने कार्यमा आफ्नो कार्यदिशा रहने बताइन् । पोखरा ७ को विशेषगरी प्रगतिनगर र प्रगतिटोल सुकम्बासी वस्ती पर्दछ ।

पूर्व मन्त्री एवं नेकपा गण्डकी सह–इञ्चार्ज खगराज अधिकारीले सो क्षेत्र झपिन्द्र कार्की र ऋषि परियारले सहादद गरेको क्षेत्र रहेको स्मरण गर्दै शहीदको सपना पूरा गर्ने दिशामा नेकपा सधैँ अग्रपंक्तिमा रहेको बताए ।

विगतका कमजोरी सच्चाएर नेकपा सधैँ अगाडि बढ्ने भन्दै अबको उपनिर्वाचनमा कास्की २ मा नेकपाको चुनाव चिन्ह् सूर्यमा मतदान गर्न सम्पूर्णमा आग्रह गरे ।

यस्तै, नेकपा केन्द्रीय सदस्य एवं पोखरा ७ को चुनावी कमाण्डर सीता गिरी वलीले रवीन्द्रको भावनाको प्रतिनिधित्व गर्ने व्यक्ति विद्या रहेको स्पष्ट पार्दै उनको अधुरो सपना पूरा गर्ने जिम्मेवारीका साथ चुनावी मैदानमा होमिएको बताइन् । उनले विद्या रवीन्द्रपत्नीमात्र नभै महिलानेतृ एवं प्राज्ञीक व्यक्ति समेत रहेको हुँदा भोट दिएर जिताउन आग्रह गरिन् ।

पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले वडाको गतिविधि उल्लेख गर्दै ५ वर्षभित्रै आफ्नो वडामा धूलोबाटो नहुने प्रतिबद्धता गरे ।
कार्यक्रमको संचालन नेकपा वडा ७ का अध्यक्ष एवं चुनावी इञ्जार्ज पुरुषोत्तम रेग्मीले गरेका थिए ।

नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button