दीननाथ बराल, पोखरा न्यूज २८, कार्तिक । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीहरुको ‘डोपिङ टेष्ट’ गरिने भएको छ । आउँदो मंसिर १५ देखि शुरु हुने सागमा प्रतिबन्धित शक्तिवर्द्धक औषधीको प्रयोगलाई निरुत्साहित गर्न खेलाडीहरुको डोपिङ टेष्ट गरिने भएको एन्टी डोपिङ संयोजक डा. सरोज कृष्ण श्रेष्ठले बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको समन्वयमा हालै ललितपुरको गोदावारीमा सम्पन्न भएको १३ औं साग मिडिया कार्यशालामा सहजीकरण गर्दै डा. श्रेष्ठले यस बर्षको सागमा सहभागि केही खेलका करिब १ सय ५० देखि २ सय जना खेलाडरुको डोपिङ टेष्ट गरिने बताएका हुन्।
एक पटक प्रयोग भएको डोपिङको प्रभाव करिब १ बर्ष ६ महिनासम्म त्यसले प्रभावित पार्न सक्ने बताउदै डा. श्रेष्ठले डोपिङको प्रयोगलाई अन्त्य गर्न आफुहरुले यस बर्ष नेपालमा हुने सागमा विभिन्न खेलका खेलाडीहरुको डोपिङ परिक्षण गरिने जनाए । उनले भने “ यदि कुुनै खेलाडीले डोपिङ प्रयोग गरी कुनै पदक वा पुरस्कार जितेमा त्यसको पुष्टि भएमा पदक तथा पुरस्कार खोसिएसंगै डोपिङ प्रयोग गर्ने खेलाडीलाई ४ बर्षसम्म प्रतिबन्ध गरिने छ । ” नेपालमा डोपिङ परिक्षण गर्ने दक्ष जनशत्ति अभावले गर्दा यसको धेरै परिक्षण हुन नपाएको डा. श्रेष्ठले जनाए । रेकर्ड ब्रेक गर्ने, अनौठो ढंगबाट नतिजा ल्याउने, शंकास्पद खेलाडी र केही सामान्य अबस्थाका खेलाडीहरुमा समेत डोपिङ टेष्ट गरिने भएको उनले जनाए ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मंगलबार उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा र काठमाण्डौंका केही पत्रकारले साग लक्षित नकरात्मक ढंगले आफ्नो बिरुद्ध समाचार लेख्ने र टिप्पर्णी गर्ने गरेको गुनासो गरे । उनले काठमाण्डौको एक पत्रिका र पोखराका पत्रकारको नामनै किटान गरेर आफ्नो बिरुद्ध लागेको आरोप लगाए । २०७२ सालमा हुने साग भूकम्पबाट प्रभावित भएपश्चात दुई बर्ष पछि २०७४ मा हुनुपर्नेमा बक्यौंता जिम्मेवार आफुले पुरा गर्ने बाटोमा रहेको मन्त्री विश्वकर्माले बताए । उनले भने “ वर्तमान सरकार गठनको डेढ बर्ष पुरा भएको छ, हामीले साग निर्धारित मितिमा हुनेगरी लागिराखेका छौं, अन्तिम घडिमा दिन गणना गर्दा केही भौतिक पुर्वाधार निर्माण गर्न नसकिने भएर हामीले साँझ बिहान र रातीको समयलाई समेत जोड्ने गरी काम गर्न लागेका छौं । ”
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवालले १३ औं साग नेपालको इज्जत र प्रतिष्ठानसंग जोडिएकोले यसलाई सकरात्मक ढंगले हेरीदिन आग्रह गरे । नेपालका करिब ७ सय जना खेलाडीहरु सागमा सहभागि हुने उनले जनाए । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले खेलाडीहरुको मनोवल उच्च पार्नेगरी संचार माध्यममले भुमिका खेल्न आग्रह गरे । खेलाडीहरुमा मनो वैज्ञानिक प्रशिक्षण आवश्यक हुने उनले जनाए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले साग लक्षित पोखरामा निर्माण हुदै गरेका सम्पूर्ण भौतिक पूर्वाधार निर्माण कार्य मंसिर १० गते भित्र सकिने दाबी गरे । केही पत्रकारहरु नकरात्मक ढंगले लागेको उल्लेख गर्दै पत्रकार सकरात्मक हुनु जरुरी रहेको उनले जनाए ।
कार्यक्रममा अग्रज पत्रकार रामकृष्ण रेग्मी, प्रकाश रिमाल, शवनयकन, पत्रकार हिमेशरत्न बर्ज्रचार्य, विकास कार्की लगायतले सहजीकरण गरेका थिए । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले सागलाई लक्षित गरी रिपोटिङ गर्न सहज हुने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाए । उनका अनुसार काठमाण्डौं, पोखरा र जनकपुरमा हुुने सागमा ५ वटा मिडिया सेन्टर स्थापना गरिने भएको जनाए ।
सागका ९ वटा खेल पोखरामा, कुस्ती जनकपुरमा र बाँकी खेल काठमाण्डौंमा हुने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution