स्ट्रबेरीको व्यावसायिक खेती शुरु

पोखरा न्यूज २९, कार्तिक । झापाको बाह्दशी गाउँपालिका – १ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताए ।

उहाँका अनुसार भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर धमाधम रोप्न थालिएको छ । प्रायः चिसो र उच्च क्षेत्रमा मात्र हुने भनिएको स्ट्रबेरीको यहाँ गरिएको परीक्षण सफल भएपछि यति ठूलो मात्रामा व्यावसायिक खेती गर्न लागिएको जानकारी दिँदै प्रमुख तिम्सिनाले स्वीट सेन्सेसन, स्वरीडा ब्यूटी, क्यामारुजा र नामिलिया नामक जातका स्ट्रबेरीका बिरुवा पनि लगाइएको बताए । कात्तिक पहिलो हप्ताबाट बिरुवा लगाउन शुरु गरिए पनि हालसम्म तीन लाख बिरुवा लगाइएको र आठ लाख ५० हजार बिरुवा लगाउन तयारी भइरहेको उनको भनाइ थियो । मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी लगाइएको दुई महिनादेखि नै फल्न थाल्ने र चार महिनासम्म रहने भएकाले यसको बजारका लागि समस्या नहुने उल्लेख गर्दै प्रमुख तिम्सिनाले भन्नुभयो, “हाल बजारमा यसको मूल्य प्रतिकिलोग्रामको रु ८ सय देखि एक हजारसम्म छ, उत्पादन शुरु भएपछि ६सय मूल्य निर्धारण गरेर बिक्री गर्नेछौँ ।

रु १० करोडभन्दा बढीको लगानीमा शुरु गरिएको यस खेतीमा हाल १सय भन्दा बढीले रोजगारी पाएका छन् । विगतमा औद्योगिक क्षेत्रमा लगानी गरिरहेको प्रालिले यस वर्षदेखि कृषिमा समेत लगानी शुरु गरेको कम्पनीका लेखापाल विजय पाठकले बताए । उक्त कम्पनीले ललितपुर जिल्लाको लेले भन्ने ठाउँमा समेत यसवर्ष १० रोपनी जग्गामा परीक्षणको रुपमा स्ट्रबेरी खेती लगाएको छ । उहाँका अनुसार कम्पनीले झापाको बाह्दशी गाउँपालिकाभित्रै २सय १० बिघा जमीन खरीद गरेर व्यावसायिकरूपमा प्राङ्गारिक फलफूल र तरकारी खेती गर्न शुरु गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button