१३ औँ साग भव्य बनाउने तयारी

कृष्ण दवाडी, पोखरा न्यूज २९, कार्तिक । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य बनाउने तयारीमा आयोजक नेपाल जुटेको छ । सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएकामा सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि नेपाललाई दुई दशकपछि प्रतियोगिता आयोजना गर्ने अवसर जुरेको हो ।

दक्षिण एशियाली राष्ट्रका बीचमा खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता पहिलोपटक नेपालबाटै शुरुआत हुनु र २० वर्षपछि आयोजना गर्ने अवसरलाई सदुपयोग गर्दै भव्य बनाउने तयारीमा युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् (राखेप), ओलम्पिक कमिटी तथा खेल सङ्घहरु रहेका छन् । सन् २०१६ मा भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औँ संस्करणबाट १३औँ साग आयोजना गर्ने जिम्मेवारी प्राप्त भएको थियो ।

प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिता विसं २०७२ को विनाशकारी भूकम्पबाट खेल संरचनामा क्षति पुगेपछि पछाडि धकेलिएको थियो । सरकारले चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै यसै वर्ष आयोजना गर्ने उल्लेख गरेपछि प्रतियोगिता तयारी शुरु भए पनि हालसम्म केही खेलका पूर्वाधार निर्माण चरणमै छन् । तथापि सागअगावै २७ वटै खेलका संरचना तयार भइसक्ने भएकाले पूर्वाधारको अभाव नहुने सरकारले स्पष्ट पारेको छ । खेलमैदान सँगसँगै अभ्यासस्थलको समेत निर्माण सम्पन्न भएकाले तयारीका लागि कुनै बाधा नपर्ने बताइन्छ ।

गत हप्ता सागको नियमनकारी निकाय दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले तोकिएको मितिमै साग आयोजना निर्णय गरेपछि तयारी र खेल पूर्वाधारप्रतिको आशङ्कामा पूर्णविराम लागेर प्रतियोगिताको सुनिश्चितता भएको हो । प्रतियोगितालाई लक्षित गरेर खेल पूर्वाधार निर्माण, खेलस्थल तथा खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन तथा खेलस्थलको सौन्दर्यकरणलगायतका व्यवस्थापकीय तथा तयारीका कामलाई अन्तिम रूप दिइएको सरकारको भनाइ छ । देशको प्रतिष्ठा र गौरवसँग जोडिएको प्रतियोगितालाई सफल बनाउने गरी सरकारी संयन्त्र परिचालन गरिएको छ ।

खेलका पूर्वाधार, व्यस्थापन तथा टोलीको तयारी सबै हिसाबले प्रतियोगिता भव्य बनाउने सरकारी योजना छ । सागका लागि काठमाडौँमा आयोजक समिति तथा पोखरामा सहजीकरण समिति तथा उपसमितिले आ–आफ्नो जिम्माका काम गरिरहेका छन् । साग आयोजना, व्यवस्थापन तथा सञ्चालन राष्ट्रिय दायित्व भएको बताउँदै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तयार हुन बाँकी रहेका पूर्वाधारसमेत एक साताभित्रमा निर्माण सकिने भएकाले राष्ट्रको प्रतिष्ठा रहेको साग भव्यताका साथ आयोजना गरिने बताए ।

सागको मिति आउन दुई साता समय बाँकी रहँदा प्रतियोगितालाई कसरी भव्य बनाउने र सहभागी देशहरुबाट तयारीका बारेमा कुनै पनि प्रश्न आउन नदिने योजनामा सरकार छ । ‘शान्ति, मित्रता र समृद्धि’ को नारासहित सरकारले प्रतियोगितालाई अविष्मरणीय बनाउने लक्ष्यअनुसार तयारी गरेको जानकारी दिँदै मन्त्री विश्वकर्माले भने, “साग आयोजना गर्ने बक्र्यौता जिम्मेवारी वर्तमान सरकारको हो, दुई वर्षअघि हुनुपर्ने साग वर्तमान सरकार गठनपछि डेढ वर्षमा पूर्वाधार तयार गरेर भव्य हुँदैछ, कसैले प्रश्न गर्न नपर्ने गरी सम्पन्न गर्दछौँ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button