गलकोट महोत्सव : हेलिकोप्टर मार्फत पर्यटकीय स्थलहरुको दृश्यावलोकन गर्न पाइने!

थम्मन थापा, पोखरा न्यूज -१, मंसिर ।  बागलुङमा दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ ।

यसपाली महोत्सवको अवसरमा गलकोटमै पहिलो पटक हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाइने छ । यसको लागि अहिले आवश्यक गृहकार्य भईरहेको महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।

महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टर मार्फत गलकोटदेखि पर्यटकीय नगरी ढोरपाटनसम्मको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए ।

हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न इच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा आउने दर्शकहरुको सहजताको लागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक विराज सुवेदीले जानकारी दिए  ।

महोत्सवको अवसरमा न्युनतम शुल्कमा हेलिकोप्टर मार्फत गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने संयोजक सुवेदीले बताए  । झण्डै १३ वर्ष पछि बागलुङको गलकोटमा सञ्चालन हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

हेलिकोप्टर दृश्यावलोकनमा कति खर्च गर्नु पर्छ त 

न्युनतम ५ मिनेटसम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्नेको लागि पहिला टिकट बुकिङ गर्ने २ सय जनालाई रु ६ हजार शुल्क लाग्ने छ । २ सय जना भन्दा बढि भएमा ६ हजार ५ सय रुपैया लाग्ने बताईएको छ ।

त्यस्तै गलकोट घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकन सहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनको लागि १५ मिनेट समयको रु १५ हजार शुल्क निर्धारण गरिएको छ ।

गलकोट सहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकोप्टर मार्फत अवलोकन गर्न रु ३५ हजार शुल्क निर्धारण गरिएको महोत्सव सचिवालय समिति सदस्य भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

महोत्सव अवधिभर कुन कुन दिन उडान हुन्छ त हेलिकोप्टर

हेलिकप्टर मंसिर ४, ७ र ११ गते उडान हुनेछ । हेलिकप्टर उडानको लागी महोत्सवको टाइटल स्पोन्सर प्रभु ग्रुप सँग सम्झौता गरिसकिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटन सम्मको आकाशमा प्रभु हेलिकोप्टरले उडान भर्ने छ ।

त्यसको लागि आवश्यक प्रकृया समेत पुरा गरिएको हेलिकोप्टर व्यवस्थापन समितिका संयोजक सुवेदीले बताउनु भयो । महोत्सवमा आफन्तजन ईष्टमित्र शुभेच्छुकलाई हेलिकोप्टरमा घुम्ने र दृश्य अवलोकन गर्ने अवसर प्रदान गर्न अहिले देश विदेशबाट टिकट बुकिङ भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेर बहादुर थापाले जानकारी दिए ।

गलकोट क्षेत्रमा हेलिकोप्टर मार्फत दृश्यावलोकन गर्ने अवसर पहिलो भएकोले पनि निकै आर्कषणको रुपमा हेरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेको हेलिकोप्टर मार्फत दृश्यावलोकनको निम्ति अनलाईन र टेलिफोन मार्फत टिकट बुकिङ गर्न सकिने बताईएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button