जनताका समस्या र आवश्यकता दुई तिहाईको छाँयामा परेको छ : उम्मेदवार गुरुङ

पोखरा न्यूज -१, मंसिर ।  नेपाली माटो सुहाउँदो समाजको असली पार्टी नै समाजवादी भएको उम्मेदवार धर्मराज गुरुङले बताएका छन् ।  मंसिर १४ मा हुने कास्की- २ को उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार गुरुङले नेपाली समाजको असली पार्टी नै समाजवादी भएकाले जनताको रोजाईमा पर्ने बताएका हुन् ।

घरदैलो अभियानका क्रममा पोखरा–१५ रामबजार पुगेका गुरुङले सत्ताको बागडोर सम्हालिरहेको नेकपा र प्रतिपक्षको कमजोर भूमिकामा देखिएको कांग्रेसले जनताको आकांक्षा र समाजको आवश्यकतालाई पूरा गर्न नसक्ने बताए । ‘सरकार भ्रष्टाचार र अराजकतामा रमाइरहेको छ । जनताका समस्या र आवश्यकता दुई तिहाईको छाँयामा परेको छ,’ इन्जिनियर गुरुङले भने, ‘लामो समय शासन गरेको कांग्रेसले पनि जनताको आवाजलाई उठाउन नसकिरहेका बेला समाजवादी पार्टी ती सबै आवश्यकतालाई जोड्ने गरी चुनावी मैदानमा होमिएको छ ।’

नेकपाप्रति अहिले चरम बितृष्णा रहेको बताउँदै उम्मेदवार गुरुङले तराई, मधेस, हिमाल पहाड जोड्ने अभियानमा रहेको पार्टी समाजवादीप्रति जनताको आशा र भरोसा जोडिएको बताए । नेकपाका कारण सिंगो राजनीतिप्रति नै बितृष्णा जागेको उम्मेदवार गुरुङको भनाइ थियो ।  ‘सरकार एकपछि अर्को काण्डमा फस्यो । हत्या र बलात्कारका दोषीलाई पक्राउ गर्नै सकेन । अहिले आँसुको राजनीति गर्न खोजिरहेको छ’ गुरुङले भने, ‘भ्रष्टाचारले पिल्सिएका जनताले यसपटक नेकपालाई पाठ सिकाउने छन् । समाजवादीको हात चिह्नलाई साथ दिने छन् ।’

घरदैलो कार्यक्रममा रामबजार पुग्दा गुरुङले स्थानीयले शुभकामना दिए । अहिलेको राजनीतिको गतिलो विकल्पका रुपमा प्रस्तुत हुन स्थानीयले समाजवादीलाई आग्रह गरे । देशकै तेस्रो शक्ति सवाजवादीलाई कास्की २ मा चुनेर अहिलेको सरकारलाई सच्याउने अवसर दिने गुरुङले मतदातासामु आग्रह गरे ।

संसदमा जनताको आवाज उठाउन निरन्तर लाग्ने बताउँदै गुरुङले आफ्नो अनुभव र सीप व्यवस्थित पोखरा निर्माणमा लगाउने जनतासामु प्रतिबद्धता गरे । ‘लामो समय युनाइटेड नेसन (युएन) मा काम गरें । १ सय ८५ देशका व्यक्तिसँग काम गर्दा विकास र सुशासनलाई नजिकबाट नियालेको छु,’ गुरुङले भने, ‘अब त्यो अनुभव र सीप पोखरामै लगाउने प्रतिवद्धतासहित जनताको घरदैलोमा आएको छु ।’

भ्रष्टाचार र लोभलालचमा लाग्नेबिरुद्ध खबरदारी गर्न र जनताको असली आवाज संसद पु¥याउन आफूले उम्मेदवारी दिएको बताउँदा स्थानीयले फूलमाला र हौसलासहित शुभकामना दिए । रामबजारको घरदैलोमा पुग्दा धर्मराजलाई साथ दिने स्थानीयले बचन दिए । जनताको विश्वासमाथि अहिल्यै घात नगर्ने बताउँदै मतदातासामु धर्मराजको आग्रह छ, ‘हिजो जसलाई भोट हाल्नुभयो, उसले जनताको पक्षमा के गरे हेर्नुहोस् । हिजो गरेको गल्ती आज सच्याउने बेला हो । त्यसैले हात चिह्नमा भोट हाल्नुस् ।’

ठूला आश्वासन होइन, काम गरेर देखाउन चुनावी मैदानमा होमिएको बताउँदै इन्जिनियर धर्मराले मतदातालाई विश्वस्त पारेका छन् । समाजवादी पार्टीले घरदैलो अभियानलाई तीब्र पारिरहेको नेता किरण थापाले जानकारी दिए । समाजवादी पार्टीको पक्षमा आएको जनलहरबाट उत्साही भएको अर्का नेता गणेशमान गुरुङले जानकारी दिए ।

समाजवादी पार्टीले आइतबार पोखरा–१५ कालिका चोकबाट घरदैलो अभियान गरेको हो । मनोनयन दर्ता भएलगत्तै जनताको घरदैलोमा समाजवादीका उम्मेदवार धर्मराज पुग्दा सकारात्मक साथ मिलेको नेता देवी सुवेदीले बताए । आइतबार र सोमबार समाजवादीले वडा नम्बर १५ मै घरदैलो गर्ने छ । मंसिर ८ गते पोखरामा समाजवादीका शीर्ष नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई लगायतको उपस्थितिमा सभा आयोजना हुने उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button