सूर्यमणि स्मृति पुरस्कार जगमान गुरुङलाई

पोखरा न्यूज -१, मंसिर ।  प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान, पोखराले संस्कृति तथा इतिहासविद् डा. जगमान गुरुङलाई यस वर्षको सूर्यमणि स्मृति पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले पोखरामा आइतबार पत्रकार सम्मेलन आयोजना गरी पुरस्कृत प्रतिभाको घोषणा गरेको हो । ५१ हजार रुपैयाँ राशिको सो पुरस्कार प्रतिष्ठानले प्राडा सूर्यमणि अधिकारीको ७१ औं जन्मजयन्ती अवसरमा मंसिर ६ गते पोखरा उद्योग वाणिज्य संघमा एक समारोह आयोजना गरी प्रदान गर्ने जनाएको छ ।

चार दशकदेखि अनवरतरुपमा नेपाली संस्कार र संस्कृतिको उन्नयनमा साधनारत रहेकोमा डा. गुरुङको कार्यको उच्च मूल्यांकन गर्दै गठित प्रतिभा छनोट समितिले उनलाई पुरस्कारको लागि सिफारिस गरेको हो । सो सिफारिस सर्वसम्मत प्रतिष्ठानले अनुमोदन गरेको हो । प्रतिष्ठान सदस्य प्राडा दिलबहादुर क्षत्रीको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति सदस्यमा कोषाध्यक्ष सहप्राध्यापक डा बाबुराम अधिकारी र सहप्राध्यापक महेश अधिकारी रहेका थिए ।

कास्कीको याङ्जाकोटमा २००३ सालमा जन्मिएका डा. जगमान गुरुङ हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति छन् ।  प्रतिभा छनोट समिति संयोजक प्राडा दिलबहादुर क्षत्रीले प्रमाण र तथ्यमा इतिहास आधारित हुने उल्लेख गर्दै सो दिशामा प्राडा सूर्यमणि अधिकारी रहेको स्मरण गरे ।

चितवन जिल्लामै पहिलो पटक विद्यावारिधि हासिल गरेका प्राडा अधिकारीको निधन २०६३ सालमा भएको थियोे । उनका इतिहास, संस्कृति, भाषा साहित्य लगायत क्षेत्रमा २ दर्जन बढी पुस्तक प्रकाशित रहेको प्रतिष्ठान संरक्षक कपिलनाथ कोइरालाले जानकारी दिए । उनले इतिहास, भाषा संस्कृति लगायत क्षेत्रमा वर्षेनी पुरस्कार प्रदान गरिने गरी स्थापित अक्षयकोषमा १५ लाख रुपैयाँ राखिएको जानकारी दिए ।

गत वर्ष फागुन १ मा स्थापित प्रतिष्ठानले हालसम्म महा यज्ञ, छात्राबास, मानवआश्रम, स्कुल लगायतमा नगद तथा जिन्सी सहयोग गरिसकेको प्रतिष्ठान अध्यक्ष इन्दिरा अधिकारी कोइरालाले बताइन् ।  प्रतिष्ठान अध्यक्ष इन्दिरा अधिकारी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य रमेश पौडेल र संचालन कोषाध्यक्ष सहप्राध्यापक बाबुराम अधिकारीले गरेका थिए । प्रतिष्ठान अध्यक्ष इन्दिरा स्व. सूर्यमणिकी सुपुत्री हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button