नेपाल बङ्गलादेशसँग ८ विकेटले पराजित, प्रतियोगिताबाट बाहिरियो

पोखरा न्यूज -२, मंसिर ।  बङ्गलादेशमा जारी एसिसि इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको छ । यस सँगै नेपाल प्रतियोगिताबाट पनि लगभग बाहिरिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमात्र बनायो । नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

सोमपालले ६३ बलको सामना गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा करण केसीले १८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका सैयद मिन्हाजुल आबेदिन र सुमन खानले समान ३-३ विकेट लिए भने तनवीर सिंह र मेहदी हसनले २-२ विकेट लिए ।

प्रतिउत्तरमा १३९ रनको सामान्य लक्ष्य बङ्गलादेशले २४ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । बङ्गलादेशका मोहम्मद नाइमले ४५(५६) रन बनाए भने कप्तान नाज्मुल सान्तो हुसेनले अविजित ५९(५६) रनको शानदार अर्धशतकीय योगदान दिए । नेपालका करन केसी र सुसन भारीको भागमा एक-एक विकेट पर्यो ।

प्रतियोगितामा नेपाल यसअघि गत बिहीबार भएको पहिलो खेलमा भारतको यू–२३ टोलीसँग ७ विकेटले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button