बागलुङमा खरका छाना विस्थापन गरिँदै

पोखरा न्यूज -०३,मंसिर ।  खरका छाना विस्थापित गर्ने भन्दै बागलुङ नगरपालिकाले विपन्न परिवारमा जस्तापाता वितरण अभियान थालेको छ । ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गरेर नगरका १४ वटै वडामा खरका छाना विस्थापनको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले बताए  ।

कार्यक्रमअन्तर्गत खरका छाना रहेका परिवारका लागि नगरपालिकाले जस्तापाता निःशुल्क उपलब्ध गराउने भएको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर खरका छाना रहेका परिवारले जस्तापाता लिन प्रस्ताव आह्वान गरेको थियो । एक सय ६४ जनाले प्रस्ताव पेश गरेका नगरको महिला विकास शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीले बताइन । यस वर्षका लागि विनियोजन भएको रु १५ लाख बजेटबाट ४० खरका छाना विस्थापित हुँदैछन् ।

नगरपालिकाले प्रस्ताव गरेका घरमा प्राविधिक खटाएर घरको अवस्था र आवश्यक जस्तापाताका विषयमा लगत सङ्कलन गरेको थियो । तत्कालै परिवर्तन गर्नुपर्ने घरको पहिचान गरेर पहिलो चरणमा जस्ता वितरण गरेको रेग्मीले बताइन । सोमबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले खरका छाना भएका परिवारका लागि जस्तापाता हस्तान्तरण गरेको थियो । जस्तापाता हस्तान्तरण गर्दै प्रमुख पौडेलले गरीबीका कारण खरका छानामा बस्न बाध्य भएकालाई अनुदान दिएको बताए ।

यो वर्षको कार्यक्रममा जस्तापाता पाउनेमध्ये सबैभन्दा धेरैवडा नं ११ रायडाँडा र वडा नं १० भकुण्डेमा सात/सात परिवार छन् । वडा नं १४ नारायणस्थानमा एक परिवारले मात्रै यो वर्ष जस्तापाता पाउने तथ्याङ्क नगरपालिकामा छ । प्रस्ताव आह्वानका क्रममा कतिपय वैकल्पिक व्यवस्था भएका घरले समेत माग गरी फारम पठाएकाले स्थलगत अनुगमन गरेर घर पहिचान गरेर मात्रै जस्तापाता वितरण गर्न लागिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button