म्याग्दीमा जापानी सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण

कमल खत्री, पोखरा न्यूज -०३,मंसिर ।  म्याग्दीको मालिका गाउँपालिका–२ रुमको जेम गाउँमा रहेको देउराली आधारभुत विद्यालयमा सुविधा सम्मन्न विद्यालय भवन निर्माण भएको छ ।

जापानी राजदुताबासको आर्थिक सहयोगमा करिब १ करोड लागतमा ८ कोठे कक्षाकोठा भवन निर्माण भएको हो । दुतावासको ९१ लाख ६१ हजार अनुदान सहयोगमा दुई तले पक्की भवन निर्माण भएको विद्यालयका प्रधानध्यापक पोष्टबहादुर विश्वकर्माले जानकारी दिए ।

भवन निर्माणमा समुदायले करिब ९ लाख बराबरको श्रमदान गरेका छन् । नवनिर्मित भवनको नेपालस्थित जापानी दूतावासका सेकेन्ड सेक्रेटरी योसिकी सान्डोले उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै सान्डोले दुर्गम र ग्रामिण क्षेत्रमा शिक्षाको वातावरण सुधार गर्नका लागि जापान सरकारले भवन निर्माणमा सहयोग गरेको बताए ।

उनले भुकम्पले विद्यालयको भवन जिर्ण बनेको र बालबालिकाहरुलाई अध्ययन गर्न असहज भएको सम्बन्धमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा विद्यालयले अनुदान माग गरेअनुसार सहयोग गरिएको बताउँदै भवनको उचित प्रयोग गर्न आग्रह गरे ।

आठ कक्षा सम्म पठनपाठन हुने यस विद्यालयमो भवन निर्माण गर्नका लागि ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट मार्फत दुताबासले अनुदान सहयोग गरेको थियो । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा २ सय २ जना विद्यार्थि अध्ययनरत रहेका छन् । पुराना जिर्ण भवनमा जोखिमपूर्ण तवरले पठनपाठन हुँदै आएको अबस्थामा नयाँ भवन निर्माणसंगै विद्यार्थी र शिक्षकहरुलाई राहत पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार पुनले जानकारी दिए ।

भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दुर्गम बस्तीमा विद्यालय भवन निर्माणमा सघाउने नेपाल स्थित जापानी दुताबासलाई धन्यबाद ज्ञापन गर्दै पूर्वाधारले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत रचनात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमायाँ बिटालुले नवनिर्मित भवनमा फर्निचर लगायतको व्यवस्थापनमा गाउँपालिकाको तर्फबाट सहयोग र पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा वडा अध्यक्ष नरबहादुर पुन र रुम निवासी सामाजिक कार्यकर्ता भिम घर्तिले दुर्गम बस्तीमा शहरी क्षेत्रमा जस्तै स्तरीय भौतिक पूर्वाधार तयार हुनुले विद्यालयको शैक्षिक विकासमा रचनात्मक सहयोग पुग्ने बताउँदै विद्यार्थि र शिक्षक संगै अभिभावकहरु समेत जागरुक बन्नुपर्नेमा जोड दिए ।

२०४२ सालमा स्थापना भएको यस विद्यालयको भवन २०७२ को महा भूकम्पका कारण चर्किएर जिर्ण बनेको थियो । भूकम्प प्रतिरोधी क्षमताको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको र घाम पानीबाट समेत सुरक्षित भएपछि विद्यार्थी र अभिभावकहरुले भवन उद्घाटन समारोहमा खुसीयाली समेत मनाएका थिए ।

यसअघि पर्खाल चिरा परेको, पानी चुहिने, भुई हिलो हुने जिर्ण भवनमा विद्यार्थीहरुलाई राखेर अध्यापन गराउनुपर्ने बाध्यता रहेको थियो । नयाँ भवन निर्माण भएपछि सफा र सुरक्षित भवनमा बसेर शान्त वातावरणमा अध्ययन गर्ने अवसर पाएको कक्षा ८ की छात्रा सरिता पटेलले बताइन ।

२ जना दरबन्दि, तीन जना राहत र तीन जना निजी स्रोतका शिक्षक रहेको यस विद्यालयमा निजी शिक्षकको तलबभत्ताका लागि बेली र जेम गाउँका बासिन्दाले प्रतिघर चन्दा सहयोग संकलन गरेर खर्च जुटाउँदै आएको विद्यालयका शिक्षक तुल बहादुर पुनले जानकारी दिए । सो अवसरमा नेपाल स्थित जापानी दुताबासबाट आएका प्रतिनिधिहरु र अतिथिलाई स्थानीयले भव्य सम्मान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button