काँग्रेस निर्वाचन परिचालन समिति -१७ का सहसंयोजक शर्मा नेकपामा प्रवेश

पोखरा न्यूज -०३,मंसिर ।   मंसिर १४ गते हुने उपचुनाव लक्षित गरी नेकपाले  घरदैलो, भेला, कोणसभा संचालन गरिरहँदा मंगलबार नेपाली काँग्रेसका निर्वाचन परिचालक सहित ४९ जना नेकपा प्रवेश गरेका छन् ।

काँग्रेसको निर्वाचन परिचालन गर्ने जिम्मा लिएका जानकी बुथका बुथ समिति सभापति तथा पोखरा १७ निर्वाचन परिचालन समिति सहसंयोजक नगेन्द्र शर्मा भण्डारीले काँग्रेस त्यागेका हुन् । भण्डारीले नेता रवीन्द्र अधिकारीबाट प्रभावित भएको उल्लेख गर्दै रवीन्द्रले देखेका सपना पूरा गर्न नेकपा प्रवेश गरेको प्रतिक्रिया दिए । उनले नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन सक्रिय हुने प्रतिबद्धतासमेत गरे । समाजसेवी षडानन्द शर्मा, तरुण दलका नेता विष्णु पोखरेल लगायत पनि नेकपा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसका पुराना नेता पुष्पराज तिमिल्सिना पनि नेकपा प्रवेश गरेका छन् । उनलाई नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारी अधिकारी र कास्की इन्चार्ज राजकाजी गुरुङले स्वागत गरे । प्रजातान्त्रिक आन्दोलनमा पटक पटक जेल परेका तिमिल्सिना २ कार्यकाल कांग्रेस वडा सभापति थिए । उनले कांग्रेसमा अवसरवादी मात्रै अटाएको दाबी गर्दै समाजवादको यात्रामा लाग्न नेकपा रोजेको बताए ।

पोखरा- १६ मा भएको कार्यक्रममा सहइन्चार्ज अधिकारीले बस्ती बस्तीमा गएर जनताका आवाज सुन्न नेता, कार्यकर्तालाई निर्देशन दिए । नेकपा कास्की इन्चार्ज गुरुङले विकास र नीति निर्माणको नेतृत्व नेकपाले मात्रै गर्न सक्ने दाबी गरे । कार्यक्रममा नेकपा कस्की सदस्य दानबहादुर बानिया, वडा कमिटी अध्यक्ष जेएन तिमिल्सिना, सचिव निर्मल आचार्य लगायतले बोलेका थिए । मंगलबारै पोखरा- १६ मा युवा भेला भएको छ ।

नेकपा उम्मेद्वार अधिकारीले वृद्ध, असहाय, असक्तको जिम्मा राज्यले लिने बताएकी छन् । उनले अहिले नेकपाको सरकार रहेको उल्लेख गर्दै यस प्रकारको कानुन बनाएर वृद्धहरुको संरक्षण, असहाय र अशक्तलाई सामाजिक सुरक्षाका लागि भत्ता दिने सुरुआत नेकपाले गरेको स्मरण गर्दै यसलाई अझ व्यवस्थित र व्यवहारिक बनाइने बताइन् ।

पोखरा- १७ मा चुनाव घरदैलोमा उनले आफूले सबै धर्म, संस्कृतिलाई सधै सम्मान गर्ने गरेको जनाइन् । ‘धर्म र संस्कृति समाजका अभिन्न पाटा हुन्,’ उनले भनिन्, ‘तर यी समयसापेक्ष रुपमा परिमार्जन गर्नु जरुरी छ ।’ उनले गुप्तेश्वर मन्दिरमा चलिरहेको अखण्ड भजनकीर्तनमा सहभागी भई भक्तजनसँग मतसमेत मागिन् ।

नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्की २ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए । अहिलेसम्म प्राप्त उपलब्धिलाई बचाउन पनि नेकपा उम्मेद्वारलाई जिताउनुपर्ने उनको भनाइ छ ।  सभामा नेकपा केन्द्रीय सदस्यद्वय तिलक महत र रामकुमारी झाक्रीले रवीन्द्रका सपना पूरा गर्न प्राज्ञिक व्यक्तित्व विद्यालाई पार्टीेले उम्मेदवार बनाएको बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button