कर कार्यालय पोखराद्वारा ४ महिनामा १ अर्ब ३५ करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा न्यूज -०३,मंसिर । “स्वच्छ कर प्रशासनः विकास र सुशासन ” भन्ने मुल नाराका साथ पोखरामा पनि साताव्यापी रुपमा आठौं राष्ट्रिय कर दिवस मनाइदै छ । मंसिर एक गते देखि पोखरामा पनि विभिन्न कर शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै कर दिवस मनाइने भएको आन्तरिक राजश्व कार्यालय पोखराका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।

सरसफाई, वृक्षारोपण, अन्तरक्रिया, कर सम्बन्धी हास्यव्यङग र यही मंसिर ७ गते उत्कृष्ट करदाताको सम्मान प्रदान गरिने भएको उनले बताए । मंसिर एक गते कार्यालयमा कर तिर्न आएकी पहिलो करदाता सम्पूर्ण राइसमिलकी संचालक दमायन्ती आचार्यलाई पनि सम्मान गरिएको सूचना अधिकारी लामिछानेले बताए ।

त्यसै गरी चालु आ.व.को चार महिनामा हालसम्म २४ हजार ७ सय ६५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको सूचना अधिकारी लामिछानेले बताए । उनका अनुसार चार महिनामा ८ हजार २ सय २३ जनाले व्यवसायीक स्थायी लेखा नम्बर लिएका छन् । कास्की र स्याङ्जामा हालसम्म १ लाख ३२ हजार ७ सय ७ जना करदाता रहेको सूचना अधिकारी लामिछानेले बताए ।

हालसम्म कार्यालयबाट ७७ हजार ५ सय १३ जना व्यत्तिगत र ५५ हजार १ सय ९४ जना व्यवसायीक स्थायी लेखा नम्बर लिएको उनले जनाए । सरकारले चालु आर्थिक वर्षको बजेटमा रोजगार दाताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिने प्रावधान राखेसँगै स्थायी लेखा नम्बर लिएको सङख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको सूचना अधिकारी लामिछानेले बताए ।

देश संघियतामा गएसँगै कर संकलनमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । यस अघि आन्तरिक राजश्व कार्यालयले संकलन गर्दै आएको घरवहाल कर, शिक्षा र स्वास्थ्य कर दुई वर्षदेखि स्थानीय तहले संकलन गर्न थालेका छन्।

आन्तरिक राजश्व कार्यालय पोखराले यस चालु आर्थिक बर्ष २०७६-०७७ को पहिलो चौमासिक अर्थात कार्तिक महिनासम्म ७७ प्रतिशत मात्र लक्ष्य प्राप्त गर्न सफल भएको छ । कास्की र स्याङ्जा जिल्ला क्षेत्र अधिकार रहेको आन्तरिक राजश्व कार्यालय पोखराले कार्तिक मसान्तरसम्म विभिन्न कारणले गर्दा लक्ष्य पुरा गर्न नसकेको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।

उनका अनुसार पहिलो चौमासिकमा कार्यालयले १ अर्ब ७६ करोड राजश्व उठाउने लक्ष्य रहेकोमा १ अर्ब ३५ करोड अर्थात ७७ प्रतिशत मात्र लक्ष्य प्राप्त गर्न सफल भएको छ । तनहुँ र बाग्लुङ जिल्ला गत कार्तिक महिला देखि पोखरा कार्यालयबाट छुट्टाएसँगै पहिलो वर्षमा गरिएको पूर्व अनुमान अपेक्षाकृत नभएको हुन सक्ने सुचना अधिकारी लामिछानेले बताए । कार्यालयले आयकर तर्फ ९५ करोड ४८ लाख राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा पहिाले चार महिनामा ६५ करोड अर्थात ६८ प्रतिशत मात्र लक्ष्य प्राप्त गरेको छ ।

मुल्य अभिबृद्धिकरबाट कार्यालयले ५१ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा चार महिनामा ४९ करोड ६० लाख अर्थात ९६ प्रतिशत मात्र लक्ष्य प्राप्त गरेको सूचना अधिकारी लामिछानेले बताए । त्यस्तै अन्त शुल्क तर्फ चार महिनामा कार्यालयले ६ करोड १२ लाखको लक्ष्य प्राप्त गरे पनि ८ करोड ८० लाख अर्थात १ सय ४४ प्रतिशत सफलता हासिल गर्न सफल भएको उनले जनाए ।  कार्तिक महिनामा मात्र कार्यालयले लक्ष्य भन्दा बढी एक सय २ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको छ ।

२९ करोड ३१ लाखको लक्ष्य रहेको कात्तिक महिनामा कार्यालयले २९ करोड ७७ लाख राजश्व संकलन गरेको थियो । साउनमा ७६ करोड ३५ लाखको लक्ष्यमा ५३ करोड ८६ लाख राजश्व संकलन गर्यो भने भदौंमा २६ करोड १६ लाख लक्ष्य रहेकोमा २३ करोड ७० लाख राजश्व संकलन गरेको सूचना अधिकारी लामिछानेले बताए । त्यसै गरी कार्यालयले असोज महिनामा पनि धेरै लक्ष्य प्राप्त गर्न सकेन । असोजमा ४४ करोड २५ लाखको लक्ष्य रहेकोमा २९ करोड ८ लाख मात्र राजश्व संकलन गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button