बागलुङमा बजार क्षेत्रमा सिसी क्यामेरा जडान

पोखरा न्यूज -०४,मंसिर । तीव्र बजारीकरण भइरहेको बागलुङ गलकोट नगरपालिका–३ हटियामा सिसी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयले जिपपार्कलगायत बजारका मुख्यचोक र सडकमा सिसी क्यामेरा जडान गरेको हो । वडा कार्यालय परिसर पनि अबदेखि सिसी क्यामेराको निगरानीमा हुनेछ ।

वडा र बागलुङ उद्योग वाणिज्य सङ्घ गलकोट एकाइ मिलेर थप १० स्थानमा सिसी क्यामेरा जडान गर्ने भएका छन् । सिसी क्यामेरा राख्नुपर्ने स्थानको पहिचान गरी काम अगाडि बढाइएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । बढी सवारी चाप हुने मध्यपहाडी लोकमार्ग क्षेत्रमासमेत सिसी क्यामेरा जडान गरिने उनको भनाइ छ ।

“बजारका १६ स्थानमा सिसी क्यामेरा राख्दैछौँ”, अध्यक्ष भण्डारीले भने । वडा कार्यालयले सिसी क्यामेरा जडानका लागि चालू आवमा रु ४   लाख बजेट छुट्याएको थियो । वाणिज्य सङ्घ गलकोट एकाइले पनि सिसी क्यामेरा जडानलाई वार्षिक कार्यक्रममा राखेको थियो । स्तरीय तारसहितका उच्च प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको जनाइएको छ । रातिमा पनि रङ्गीन दृश्य कैद हुने खालका क्यामेरा राखिएका वडाध्यक्ष भण्डारीले बताए ।

हटियालगायत आसपासका बजार क्षेत्रलाई प्रविधिमैत्री बनाउने नगरपालिकाको योजना छ । हटिया गलकोटकै ठूलो बजार हो । मध्यपहाडी लोकमार्गले छोएपछि गलकोट क्षेत्रमा बजारीकरण बढेको छ । सो नगरपालिकाको केन्द्र पनि हटिया बजारदेखि नजिकैको मजुवाफाँटमा छ ।

सिसी क्यामेराले सुरक्षा निगरानीसँगै सामाजिक विकृति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । वडा कार्यालयले चलाएको विकृतिविरुद्धको सामाजिक अभियानलाई पनि सिसी क्यामेराले सघाउनेछ । वडाका अन्य सार्वजनिकस्थलमा पनि सिसी क्यामेरा राख्ने योजना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button