कोषाध्यक्ष बन्ने दौडमा तारापति

आर.आर. पौडेल, पोखरा न्यूज -०४,मंसिर । मंसिर ६, ७ र ८ गते पोखरामा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनमा नयाँ नेतृत्व तथा पदाधिकारी र सदस्यमा दावेदारी प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दैछ । यसै क्रममा गायक तारापति सुवेदीले कोषाध्यक्ष पदमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

उनीसँग राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीको संस्थापक अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अञ्चलको संस्थापक अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दुई कार्यकाल सदस्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गण्डकी प्रदेश प्रमुख भएर काम गरेको अनुभव छ ।

विगतको अनुभवका कारण महाधिवेशनमा सहभागी हुने १ हजार २ सय ८० जना प्रतिनिधि मार्फत अनुमोदन हुने अपेक्षाका साथ उनी कोषाध्यक्षको दौडमा सामेल भएका हुन् । उनले आम प्रतिनिधिलाई आफुलाई विजयी गराउन अपिल पनि गरेका छन् ।

वि.स २०३४ सालमा कास्कीको कास्कीकोट–३ मा बुबा स्व.धनपति र आमा स्व.तिलमाया सुवेदीको कान्छो सन्तानको रुपमा जन्मिएका हुन् सुवेदी । कालिका मा.वि.मा कक्षा ९ मा पढ्दा गुरु ठाकुर त्रिपाठीले उनलाई गीत सिकाई गाउन लगाए । उनले गाएको गीत सुनी त्रिपाठीले गीत संगीतको क्षेत्रमा अगाडी बढ्न हौस्याए । उनकैै पेरणामा आज आफु यो स्थानमा आइपुगेका बताउने सुवेदी स्कूलमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा भाग लिई त्यस्ता कार्यक्रमबाट पाएको सफलताले नैै यो क्षेत्रमा अगाडी बढे ।

जिल्ला तथा अञ्चल स्तरीय लोक गीत प्रतियोगीतामा भाग लिई प्रथम हुन सफल समेत बनेका उनको साँगीतिक फाँटको औपचारीक शुरुवात २०५३ सालमा रेडियो नेपालमा स्वर परीक्षाका लागि गाइएको ‘फेवातालमा डुङ्गा चढेर’ बोलको गीतपछि भएको थियो । स्वर परीक्षामा उत्तीर्णपछि उनले मगर भाषाको ‘लाउ माया’ बोलको गीत पहिलो पटक रेकर्ड गराए । यहि वर्ष पहिलो एल्बम ‘फुर्के डोरीलाई’ श्रोतामाझ पस्के ।

चारवटा गीत समावेश यस लोकदोहोरी एल्बमबाट उनको चर्चा बढ्यो । लोक दोहोरीको माहोल त्यती नभएको उक्त समयमा निरन्तर उनले एल्बम निकाले । २०५४ सालमा ‘नरोउ धर्केर’, ‘चरी पासैमा’ र ‘भाले बासेछ’ तिनवटा एल्बम एकै वर्षमा बजारमा ल्याए । यि एल्बमबाट उनको लोकप्रियता अझ चुलीन पुग्यो । २०५५ मा ‘सोह्र वर्षै’ एल्बम निकालेका थिए । त्यसपछि उनले अन्य विभिन्न गीत दर्शक श्रोतामाझ पस्के । लामोसमयदेखि लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय भएको कारण कोषाध्यक्ष पदमा आफ्नो दाबेदारी जायज भएको उनको तर्क छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button