म्याग्दीमा मोतियाविन्दुका बिरामीको निःशुल्क सफल शल्यक्रिया

पोखरा न्यूज -०४,मंसिर ।  म्याग्दीको  जलजला गाउँपालिका–३ मल्लाजमा सम्पन्न निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा पाँच सयभन्दा बढीको परीक्षण गरिएको छ । निःशुल्क आँखा शिविरमा १७ जना विरामीको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो ।

लायन्स क्लब अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको थियो ।

गाउँपालिकाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा न्यू होराइजन आवासीय मावि बेनी, प्याराडाइज बोर्डिङ, विद्याज्योति मावि, अमृत आदर्श बोर्डिङ स्कूल मल्लाज, नव उत्साही समूह बेनीले स्वयंसेवक परिचालन गरेका थिए ।

आइतबारदेखि शुरु भएको शिविरमा मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा, धाइरिङ, नागी, राम्चे र बेनीबजार आसापासका गाउँका आँखाका बिरामीले सेवा लिएका लायन्स क्लब अफ बेनी मल्लाजका द्वितीय उपाध्यक्ष विक्रम सुवेदीले जानकारी दिए ।

शिविरमा ५ सय २३ जना लाभान्वित भएका क्लबका अध्यक्ष दिनेश बानियाँले बताए । हिमालायन आँखा अस्पताल पोखराका चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा आँखा उपचार केन्द्र बेनी र मल्लाज स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले सेवा दिएका थिए । आँखा परीक्षण, परामर्श र मोतियाविन्दुको शल्यक्रिया सेवा दिइएको हो ।

दुई सय पुरुष र ३ सय १५ महिलाले सेवा लिएका छन् । आठ महिला र नौ पुरुषको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रु ३४ हजार ८ सय ४१ बराबरको औषधि र ६० हजार मूल्य बराबरका ३ सय थान चश्मा निःशुल्क वितरण गरिएको क्लबका रवीन्द्र कँडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button