म्याग्दीको रुईसेमा पर्यटक आकर्षित, आन्तरिक पर्यटकको आगमन बढ्यो

कमल खत्री, पोखरा न्यूज -०४,मंसिर ।  केहि वर्ष अघिसम्म ओझेलमा परेका म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माणसँगै पर्यटकको आगमन बढ्न थालेको छ । संघियता कार्यान्वयन सँगै स्थानीय तहहरुको अगुवाईमा पर्यटन पूर्वाधार निर्माण भैरहेका छन् नै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै संघ र प्रदेश सरकारलेसमेत पर्यटन पूर्वाधार बनाउन स्थानीय तहहरुसँग सहकार्य गरेका छन् ।

ओझेलमा परेका पर्यटकीय स्थलहरुमा पदमार्ग सँगै खाना र बसोबासको लागि होटल तथा रिसोर्ट, दृष्य अवलोकनका लागि भ्यू–टावर लगायतका पूर्वाधार बनाउने काम भैरहेको छ । पर्यटकीय पूर्वाधार निर्माणले पर्यटकहरुको आगमन ह्वात्तै बढाएको छ । यतिबेला म्याग्दीका पर्यटकीय स्थलहरुमा पर्यटकहरुको चहलपहल बढेको छ । फुर्सदको समयमा ‘घुम्ने’ संस्कृतिको विकासले पनि आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुर्याएको रघुगंगा गाउँपालिका–२ भगवतीका वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए ।

उनका अनुसार, भगवतीको रुईसे –भेडिओढार क्षेत्रमा पदमार्ग, भ्यु–टावर लगायतका पूर्वाधारले यतिबेला आन्तरिक पर्यटकहरुको आगमन बढाएको छ । गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित रुईसे–भेडिओढार क्षेत्रमा अहिले दैनिक रुपमा पर्यटकहरु भित्रिरहेका छन् । गाउँपालिका र संघिय सरकारको साझेदारीमा यहाँ पदमार्ग, भ्यु –टावर र भ्यु–प्वाइन्ट निर्माण गरिएको छ ।

रुईसेदेखि–थापाकोटको भ्यु–टावर जाने व्यवस्थित पदमार्ग निर्माण भएको छ भने थापाकोटमा भ्यु–टावर निर्माण भएको छ । यहाँबाट अन्नपूर्ण र धवलागिरि रेञ्जका हिमालहरुसंगै म्याग्दी, पर्वन र बागलुङका दर्जनौँ बस्तीहरुलाई अवलोकन गर्न समेत सकिने भएकाले भ्यु–टावर निर्माण पछि पर्यटकहरुको आगमन बढेको वडा अध्यक्ष कटुवालले बताए । रुईसेमा गाउँपालिकाले ३० लाख लगानीमा भ्यु टावर र शौचालय निर्माण गरिएको छ भने तालिम केन्द्रको लागि भवन र वनभोज स्थल समेत निर्माण गरिसकेको छ ।

यो बर्ष पदमार्ग निर्माणलाई पूर्णता दिन र टावर वरपरको घेरबारको लागि रु १० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिए । रुइसेसंगै भेडिओढारमा समेत पर्यटन पूर्वाधार बनाइएको छ । भेडिओढारको विशाल ढुंगाको भ्यु पोइन्टमा संघिय सरकार मार्फत विनियोजित बजेटमार्फत गोलघरसहित सुरक्षाको लागि रेलिङ बनाइएको वडा कार्यालयले जनाएको छ ।

होटल खुल्न थाले

म्याग्दी सदरमुकाम बेनीबाट सवारी साधनमा साढे १ घण्टा र पैदल यात्रा मार्फत एक बिहानको दुरीमा रहेको रुईसेमा आन्तरिक पर्यटकहरुको आगमन हुन थालेसँगै स्थानीयले खाना र खाजाको सुविधाको लागि होटल सञ्चालन गर्न सुरु गरेका छन् । परम्परागत रुपमा पशुपालनको लागि गोठ राख्दै आएका स्थानीयले पर्यटकहरुलाई खाजा र खानाको लागि होटलहरु सञ्चालन गर्न थालेका हुन् ।

अहिले रुईसेमा स्थानीय तीन जनाले सामान्य होटल व्यवसाय सञ्चालन गरेका छन् । भ्यु टावरको संरक्षण र व्यवस्थापनको लागि गाउँपालिकाले प्रतिस्पर्धा मार्फत होटल सञ्चालन प्रयोजनको लागि भ्यु टावरलाई भाडामा लगाउने तयारी गरेको छ । स्थानीय स्तरबाट समेत सुविधायुक्त होटल सञ्चालनको तयारी भएको छ ।

पर्यटक लोभ्याउँने दृष्य

धवलागिरी आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुईसे क्षेत्र रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । संसारको सातौँ अग्लो धवलागिरी हिमाल संगै अन्नपूर्ण, निलगिरी, माछापुच्छ्रे, चुरेन, गुर्जा लगायतका हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।

भ्यु टावरबाट देखिने मनोरम दृष्यले आफु प्रभावित बनेको पहिलो पटक यस क्षेत्रको भ्रमणमा पुगेका काठमाण्डौका भगवान हमालले बताए । ‘‘पर्यटन विकासका हिसाबले यो क्षेत्र सम्भावनायुक्त रहेछ, पदमार्गको प्रचार प्रसार र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने देखियो’’–उनले भने । हिउँद याममा गुराँसे जंगलको फूलले आकर्षित गर्ने यस क्षेत्रको जैविक विविधता र प्राकृतिक भू–वनोट पर्यटकहरुको लागि थप आकर्षण हो । यस क्षेत्रमा रहेका परम्परागत भेडाबाख्रा, गाई, भैसीका गोठ समेत पर्यटकहरुको लागि अध्ययन र चासोको बिषय बन्ने गरेको स्थानीय युवा हरि भण्डारी बताउँछन् ।

रुईसेको ऐतिहासिक महत्व

प्राकृतिक हिसाबले पर्यटकीय सम्भावनायुक्त रुईसे क्षेत्रको धार्मिक, ऐतिहासिक महत्वसमेत रहेको छ । रुइसेमा तत्कालिन बाईसे चौविसे राज्यहरुको पालामा यहाँबाट शासन चलाएका थिए ।

यस क्षेत्रको प्राचिनकालिन इतिहासलाई हेर्दा रुईसे दरबारमा रहेको तत्कालिन राजाले बनाएका दरबारको भग्नावशेष, राजाको हात्ति बाँध्ने गाह्रो, पानी खाने कुवा र पधेरो, ओखल, आराम गर्ने थलोको रुपमा राजाको विसौनी, राजाको चौतारो, गोठाला र हेराला बस्ने ढुंगा जस्ता नामकरण गरिएका ठाउँहरु अझै रहेको स्थानीय अगुवा देवेन्द्रबहादुर मल्ल बताउँछन् ।

म्याग्दी जिल्लाकै पुरानो कोतमन्दिर भगवती कोत मन्दिरको उद्गत स्थल रुइसेको थापाकोट रहेको उनको भनाई छ । यस क्षेत्रलाई अहिले थामकोटको नामले समेत चिनिन्छ ।

१७ औँ शताब्दीको विरासतसँग जोडिएको यस कोत मन्दिर तत्कालिन राजाको बासस्थान तथा सुविधाको लागि र उनीहरुको सुरक्षालाई मध्यनजर गर्दै कोतलाई थापाकोटबाट रामकोटमा सारिएको थियो । उक्त रामकोटमा पनि आगलागी भएपछि त्यस ठाउँको नाम डढेकोट राखिएको छ भने भगवती मन्दिरलाई अहिले रहेको स्थान भोर्लाकोटमा सारिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button