कास्कीमा २२ हजार ७ सय सवारीसाधन कारवाहीमा, १ करोड ७४ लाख राजश्व संकलन

दीननाथ बराल, पोखरा न्यूज -०४,मंसिर ।  आर्थिक बर्ष २०७६/०७७ को पहिलो चौमासिक (कार्तिकसम्म) मा कास्कीमा २२ हजार ७ सय वटा सवारी साधनहरु कारवाहीमा पर्दा १ करोड ७४ लाख ४६ हजार रुपैया राजश्व संकलन भएको छ ।

चार महिनाको अवधिमा कास्कीमा ३८ वटा सवारी दुर्घटनामा परी १५ जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरीक्षक सन्तोष रोक्काले बताए ।

कार्यालयका अनुसार उक्त सवारी दुर्घटनामा परी २९ जना गम्भिर घाइते भएका छन् भने ९ जना सामान्य घाइते भएका छन् । चार महिनाको अवधिमा ४ वटा छाडा चौपायाको सवारी दुर्घटनामा परी मुत्यु भएको प्रहरी निरीक्षक रोक्काले बताए । मादक पदार्थ सेवन गरी ९ वटा सवारी दुर्घटना भएको छ ।

कार्तिकमसान्तरसम्म कास्कीमा ३६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए भने ३ वटा ट्रक-ट्याङकर, २ वटा टिपर, ३ वटा बस, २ वटा माइक्रोबस, १२ वटा जिप-कार, २ वटा साइकल, १ ट्याक्टर दुर्घटनामा परेको कार्यालयले जनाएको छ ।

कोहलपुर बाँकेबाट हालै सरुवा भई आएका प्रहरी निरीक्षक रोक्काले पोखरासहित कास्कीमा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्नुपर्ने बताए । यस अघि कास्कीमा रहेका प्रहरी निरीक्षक मुराहरी मिश्र महानगरीय ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएका छन्।

यही मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यकोे उपनिर्वाचन र मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एशियाली खेलकुद (साग) का ८ वटा खेल पोखरामा आयोजना हुने भएकोले शान्ति सुरक्षालाई मजबुत पार्न थप सुरक्षाको माग गरिएको कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्कीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button