सागमा प्याराग्लाइडिङ नहुँदा नेपाललाई पदकमा असर पर्ने

दीननाथ बराल, पोखरा न्यूज – ०४, मंसिर । १३ औं सस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा पदकको आशा गरिएको साहसिक खेल प्याराग्लाइडिङ समावेश नहुने भए पछि नेपाललाई पदक तालिकमा असर पर्ने भएको छ ।

वैशाख देखि प्रशिक्षणमा रहेका नेपाली खेलाडीहरुले उच्च मनोवलका साथ पोखरामा प्रशिक्षण गर्दै आए पनि अन्तिम समयमा आएर उक्त खेल सागमा समावेश नहुदा यसबाट नेपाललाई प्रत्यक्ष असर पर्ने भएको प्रमुख प्रशिक्षक योगेश बहादुर भट्टराईले बताए ।

उनले भने “ प्याराग्लाइडिङमा हामीले ८ वटा स्वर्ण मध्ये कम्तिमा ६ वटा स्वर्ण पदक हात पार्न सक्ने प्रवल सम्भावना भएको खेल हो तर अन्तिम समयसम्म पनि तीन देश पनि सहभागी नहुने भएकोेले सागमा यस खेल समावेश नहुने भयो, यसले खेलाडी, प्रशिक्षक सहित देशलाई समेत प्रभाव पार्ने भयो ।”

भारतका खेलाडीहरुलाई आफुहरुले अन्तिम समयसम्म पनि सागमा सहभागी हुन आग्रह गरे पनि नेपाल र पाकिस्तानले मात्र प्रतियोगितामा सहभागिताको लागि नाम दर्ता गराएकोले यस सागमा प्याराग्लाइडिङ समावेश नहुने प्याराग्लाइडिङ ह्याण्ड ग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र रावतले बताए । यसबाट खेलाडीसँगै आफुहरु पनि निराश भएको महासचिव रावतले बताए ।

उनले भने “ यसमा नेपालको भन्दा पनि प्याराग्लाइडिङ खेललाई दक्षिण एसियाली राष्ट्रहरुले सरकारी मान्यता नदिएकोले गर्दा समस्या आएको हो, यसमा नेपालको राम्रो पदकको आसा थियो ।” उनका अनुसार भारतको दार्जलीङ सहितका १० ठाउँमा प्याराग्लाइडिङ हुने गरेको छ भने भारतमा करिब सय जना प्याराग्लाइडिङ पाइलटहरु रहेका छन् ।

नेपालले अन्तिम समयमा आएर प्याराग्लाइडिङ गराउन सहभागी खेलाडीहरुलाई आवासीयसहितको यातायातको निशुल्क सेवा सुविधा दिने उद्घोष गरेको थियो । नेपालले एसियन गेममा १८ देशका सहभागि राष्ट्रहरुमध्ये क्रस कन्ट्रीतर्फ रजत पदक हात पारेको हुदा सागमा स्वर्ण पदककै आस गरे पनि उक्त प्रतियोगिता नहुने हुदा खेलाडीहरु समेत निराश भएको प्रशिक्षक भट्टराईले बताए । टिम
दर्ताको अन्तिम दिन बुधबार सम्म प्याराग्लाईडिङमा तीन टिम पनि दर्ता हुन नसकेसँगै प्याराग्लाइडिङ खेल नहुने भएको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले बताए ।

पोखरामा आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन, ट्याथलन खेल हुने छन् । केही खेलका भौतिक पूर्वाधार निर्माण सम्पन्न भएका छन् भने केही खेलका भौतिक निर्माण कार्य अन्तिम चरणमा पुगेको राखेप सदस्य राजेश कुमार गुरुङले बताए । पोखरामा हुने ८ खेलमा १ सय ४४ जना नेपाली खेलाडीहरु सहभागी हुने भएका छन्।

कुल खेलाडी मध्ये ९२ जना पुरुष र ५२ जना महिला खेलाडीहरु सहभागी हुने भएका हुन् । पोखरामा हुने सागको प्रचार प्रसार समेत तीव्र पारिएको प्रचार प्रसार समिति पोखराका संयोजक केशव पाठकले बताए । उनका अनुसार स्टीकर, व्यानर, होर्डिङ वोर्ड, स्वागत गेट सहित विभिन्न संचार माध्यममा प्रतियोगिताको प्रचार प्रसार गरिदै गरेको छ । यस पटकको सागमा नेपालले ५० स्वर्ण सहित दोश्रो हुने
अपेक्षा गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button