मुख्यमन्त्री गुरुङद्धारा पोखरा रंगशालाको अवलोकन

दीननाथ बराल, पोखरा न्यूज – ०५, मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरा रंगशाला अवलोकन गरेका छन् । गुरुङले यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा पनि संचालन हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित खेल पूर्वाधारको अवलोकन गरेका हुन्।

पोखरा रंगशालामा निर्माण हुदै गरेको एक अर्ब २८ करोडको प्रोजेक्ट पोखरा फुटबल स्टेडियम सहितका भौतिक संरचनाको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले गुणस्तरियतालाई विशेष ध्यान दिएर जति सक्दो छिटो संरचना निर्माण सक्न निर्माण कम्पनीहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले बजेट निकासा नहुँदा हाल विभिन्न भौतिक संरचना निर्माणमा कठिनायी भएको गुनासो गरे पछि मुख्यमन्त्री गुरुङले साग लक्षित भौतिक संरचना निर्माणलाई कुनै पनि असर नपार्ने गरी प्रदेश सरकारले बजेटको व्यवस्था गरिएको बताए ।

उनले भने “ साग हाम्रो इज्जत र प्रतिष्ठासंग जोडिएकोले यहाँ हुने सवै खेल संचालन गर्नको लागि तपाईहरु लाग्नुहोस अपुग रकमको हामी पनि व्यबस्था मिलाउछौं । ” पोखरा फुटबल स्टेडियममा हाल भारतबाट ल्याएको दुबो मरेपछि आज दुई ट्रक दुबो रोपिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ई. दीपक बरालले बताए । नेपाल प्रहरीले हालै आएको दुबो रोपेका थिए ।

अबको ५ दिन भित्र ८ देखि १० हजार सिट क्षमताको प्यारापिट समेत निर्माण हुने उनले जनाए । पोखरामा हुने ८ वटा खेलहरु भौतिक पूर्वाधारका हिसावले पोखरामै गर्नको लागि आफुहरु कटिबद्ध भएको राखेप सदस्य गुरुङले बताए ।

निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड ३ दिनअघि फ्रान्सबाट उक्त सामान पोखरा आइपुगेको हो । पोखरा फुटबल स्टेडियम निर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको हो । रंगशालाको हालसम्म करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको प्रोजेक्टका म्यानेजर हरिबाबु न्यौपाने बताए ।

 

मुख्यमन्त्री गुरुङले क्रिक्रेट मैदान, आर्चरी खेल मैदान, व्याडमिन्टन कभर्ड हल, पोखराको बहुउद्धेश्य कभर्ड हललगायतको भौतिक संरचना अवलोन गर्दै मिडिया सेन्टरमा पुगेर १३ औं सागको मोबाइल एप्स र वेवसाइटको उद्घाटन गरेका हुन्।

जिरोवान टेक्नोलोजीले साग लक्षित गरी पोखरामा हुने सागका खेलहरुको बारेमा सम्पूर्ण जानकारी लिनको लागि उक्त वेवसाइट र मोबाइल एप्स निर्माण गरिएको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं १३ औं साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका सदस्य तेज बहादुर गुरुङले बताए ।

गुगल प्ले स्टोरबाट साग २०१९ डट ओआरजी एप डाउनलोड गरी मोबाइलमा समेत कुन खेल कहाँ हुदैछ लगायतका विवरण हेर्न सकिने इ.सुर्य पौडेलले बताए । उक्त सिस्टमले धेरैलाई फाइदा हुने भएको इ. बाबुराम नेपालीले जनाए ।

मंसिर १५ देखि २४ गतेसम्म हुन लागेको सागमा पोखरामा ८ खेल, जनकपुरमा कुस्ती र बाँकी खेल काठमाडौंमा हुनेछ । १३ औं सागमा २८ खेल हुने भनिएकोमा पोखरा हुने भनिएको प्याराग्लाइडिङ नहुने भए पछि अब २७ खेल मात्र हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button