करिब ६ करोड लागतमा प्रहरी कार्यालयको भवन बन्दै

पोखरा न्यूज – ०५, मंसिर । इलाका प्रहरी कार्यालय बनेपाको भवन आज बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले शिलान्यास गरेका छन ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं ३ को आर्थिक सहयोगमा निर्माण हुन लागेको सो भवन रु पाँच करोड ८४ लाख ७५ हजारमा निर्माण हुने इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए  ।

किराँतेश्वर आरएण्डसी जेभीले ठेक्का पाएको सो भवन असोज १३ गते सम्झौता भएको हो । आगामी विसं २०७७ पुस १३ गते सम्पन्न गर्नुपर्ने भवनमा कार्यालय भवन, मेस, शौचालय, पानीट्याङ्की र सेफ्टी ट्याङ्की निर्माण हुनेछ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा बन्न लागेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमध्येको यो पहिलो भवन शिलान्यास हो । प्रदेश सरकारको सहयोगमा जिल्लामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी गरी आठ वटा निर्माण गर्नेछन् ।

जसअन्तर्गत इलाका प्रहरी कार्यालयमा बनेपा, बनखु र गोकुले त्यस्तै प्रहरी चौकीमा फलाँटे, तेमालवेंशी, तालढुङ्गा, फोक्सिङटार र फलामेसाँघु रहेको छ ।

त्यसका लागि निर्माण गर्न आव २०७५/०७६ मा रु १३ करोड ८१ हजार रकम प्राप्त भएकामा कार्य सम्पन्न गर्न रु १७ करोड ७९ लाख ४० हजार २ सय ९६ आवश्यक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button