प्रतिष्ठानमा राजनीति गर्ने छुट कसैलाई छैन : बद्री पंगेनी

आर.आर.पौडेल, पोखरा न्यूज – ०५, मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन शुक्रबारबाट पोखरामा शुरु हुँदैछ । महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष एवं महाधिवेशन मुल समारोह समितिका संयोजक बद्री पंगेनीले महाधिवेशनमा ५८ जिल्ला, विदेशका ८ र काठमाण्डौ उपत्यका सहित प्रदेशका ८ शाखाबाट १ हजार ३ सय १० जना प्रतिनिधिको सहभागीता रहने बताए । महाधिवेशनको उद्घाटन सत्र पोखरा नयाँबजारको प्रर्दशनी केन्द्रमा हुनेछ भने बन्द सत्र पोखरा सभागृह हलमा आयोजना गरिने उनले जनाए ।

उद्घाटन सत्र अगाडी पोखराको चिप्लेढुङ्गाबाट नयाँबजारसम्म झाकी सहितको र्याली समेत आयोजना हुनेछ । उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रम मार्फत नेपाली लोक संगीतको प्रर्वद्धन गरिने आयोजकको भनाई छ । उद्घाटन सत्रमा नै लोक दोहोरी गायक दुर्गा रायमाझी, गायिका लक्ष्मी सुवेदी र पत्रकार हेमराज अधिकारीलाई लोक दोहोरीको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिने अध्यक्ष पंगेनीले बताए ।

महाधिवेशनमा प्रतिनिधिको अलावा विभिन्न क्षेत्रका ३ सय पर्यवेक्षकको सहभागिता रहनेछ । मंसिर ८ गतेसम्म पोखरामा हुने महाधिवेशन मार्फत नयाँ नेतृत्व समेत चयन हुनेछ । सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना निकै कम रहेको अध्यक्ष पंगेनीले पत्रकारमाझ बताए । ‘हामीले नेतृत्वमा सहमती गर्न भनेर विगत ४ महिनादेखि लगातार प्रयास गरेका थियौ, अब नेतृत्वमा सहमती हुने सम्मभावना कम छ, तर प्रयास भने रोकिएको छैन’ उनले भने । पोखरामा हुने महाधिवेशन एकताको महाधिवेशन भने उनको भनाई छ । ‘सर्वसम्मत नेतृत्व चयन हुनुलाई मात्र एकताको महाधिवेशन भन्न मिल्दैन, अन्य सबैकुराले यो महाधिवेशन एकताको महाधिवेशननै हो’ उनले दाबी गरे ।

लोक दोहोरी गीत प्रतिष्ठानमा राजनीति गर्ने छुट कसैलाई नभएको उनले प्रष्ट पारे । ‘बाहिर आएका हल्ला सबै निराधार हुन्, लोक दोहोरी गीत प्रतिष्ठान नेपालमा कहिल्यै पनि राजनीतिलाई प्रश्रय दिएका छैनौ, दिने पनि छैनौ’ पंगेनीले भने । राजनीति गर्ने ठाउँ प्रतिष्ठान नभएकोर प्रतिष्ठानमा आफुले कहि कतै राजनीति गरेको प्रमाण भए पेश गर्न उनले चुनौती समेत दिए ।

पोखरामा मंसिर १४ गते उपनिर्वाचनले आफुहरुको महाधिवेशनमा केहि असर भने परेको उनले स्विकारे । चुनाव हुने सम्भावना लगभग निश्चित भएको बताउदै उनले निर्वाचनलाई व्यस्थित बनाउन फोटो सहितको नामावलीलाई प्रयोगमा ल्याउने तयारी भएको समेत जनाए ।

सातौँ महाधिवेशनमा नयाँ नेतृत्वको लागि रमेश विजी र विष्णु खत्री बिच प्रतिष्पर्धा हुने देखिएको छ । गायिका पार्वती जिसीले समेत अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेकी छन् । रमेश विजिलाई सर्वसम्मत अध्यक्ष बनाउने र विष्णु खत्रीलाई व्यवस्थापन गर्ने प्रयास भइरहेको भएपनि सर्वसम्मत हुने सम्भावना क्षिण बन्दै गएको स्रोतको दावी छ ।

नेतृत्व तथा पदाधिकारी र कार्यसमितिका दावेदारहरुले भेटघाट र छलफललाई तिव्रता दिएका छन् । सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्ने र मत माग्ने क्रम समेत सुरु भएको छ । महाधिवेसनबाट कुल ५५ सदस्यिय कार्यसमिति चयन हुनेछ । मनोनय दर्ता हुँदाको समयसम्म आकांक्षीको संख्या बढ्ने देखिएको छ ।

महाधिवेशनमा सहभागी हुने कलाकारको पोखरा बसाईलाई सुुखद र अविस्मरणिय बनाउने तयारी आफुहरुको भएको केन्द्रिय महाधिवेशनको सह–संयोजक तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङले बताएका छन् । महाधिवेशन सम्मपन्न गर्न झण्डै ७६ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button