सुन्तलामा औँसाको प्रकोप : ‘बोटबाटै सुन्तला झर्न थाले, कृषकहरु समस्यामा’

कमल खत्री, पोखरा न्यूज -०५, मंसिर । म्याग्दीको  बेनी नगरपालिका–२ राखु भकिम्लीकी मनकुमारी पुन सुन्तलाबारीमा दैनिक रुपमा फल झर्न थालेपछि समस्यामा परेकी छिन् ।

करिब १५ बर्षदेखि व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएकी पुनको फूलबारीमा अहिले बोटबाटै सुन्तला झर्न थालेपछि उनी चिन्तित बनेकी हुन् । हरेक बोटबाट दैनिक १ किलो भन्दा बढी सुन्तला पहेँलो भएर झर्ने गरेको उनले बताईन् ।

गत बर्ष साढे २ लाख भन्दा बढीको सुन्तला बिक्री गरि आम्दानी गरेकी पुनले यस बर्ष असिना र फल झर्ने औसाको प्रकोपको कारण सुन्तला उत्पादनमा भारी गिरावट आएको जानकारी दिईन् । पुनको बगैचामा २५० बढी सुन्तलाका बोट रहेका छन् ।

उनको फुलबारीमा मात्रै होईन सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको भकिम्लीको पानिस्वाँरा, मरेक, जिमिरे लगायतका ठाउँमासमेत बिक्रीको लागि तयारी हुँदै गरेका सुन्तलाका दाना झर्ने समस्या व्याप्त देखिएको छ ।

बिक्री गर्नको लागि बजारको बन्दोबस्त मिलाउँदै गरेका सुन्तला खेती गरेका कृषकहरु बोटबाटै सुन्तला झर्न थालेपछि अहिले ठुलो समस्यामा परेका छन् ।

बेनी नगरपालिकाको अधिकाँश ठाउँमा सुन्तला झर्ने समस्या महामारीकै रुपमा देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहेको सुन्तला जोन सञ्चालक समितिका संयोजक खिमबहादुर पुनले जानकारी दिए ।

उनका अनुसार परियोजनाले समेटिएको म्याग्दीको बेनी नगरपालिका सहित, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण, पर्वतको जलजला, बाग्लुङको काठेखोला गाउँपालिका र बाग्लुङ नगरपालिकामा समेत बोटबाटै अस्वभाविक रुपमा सुन्तला झर्ने समस्या बढेको पाइएको छ ।

‘सुन्तलाको व्यवसायीकरणमा जोड दिइरहेको समयमा फलेका फलहरु नै झर्ने समस्याले अत्यन्तै चिन्तीत बनाएको छ, तत्काललाई झरेका फलको व्यवस्थित व्यवस्थापनमा सचेत रहन कृषकहरुलाई अनुरोध गरेका छौँ’’ संयोजक पुनले भने ।

यि क्षेत्रमा देखियो औँसाको प्रकोप

परियोजनाका अनुसार, भकिम्लीसँगै बेग, दोसल्ले बाग्लुङको सिंगाना, बिउँ, पर्वतको वाँसखर्क, नाइलीवाङ्ग, वनौँ लगायतका ठाउँमा सुन्तला कुहाउने औँसाको प्रकोप बढेको छ ।

पुर्वतिर बढी फैलिएको ‘व्याक्ट्रोसेरा मिनाक्स’ नामको किराको संक्रमण म्याग्दीसँगै बाग्लुङ र पर्वतका सुन्तला जात फलफुल खेतीमा समेत देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईका बरिष्ठ कृषि अधिकृत सुर्यप्रसाद बरालले जानकारी दिए । ‘‘

सुन्तला टिप्ने तयारी नहुँदै बोटबाट सुन्तला झरिरहेको छ, हामीले स्थलगत रुपमा बगैचा निरिक्षण गरि प्रकोप व्यवस्थापनका उपाएहरुबारे कृषकहरुलाई जानकारी गराउन थालेका छाँै, यसको नियन्त्रणमा अन्य सरोकारवालाबाट समेत पहल हुन जरुरी छ’’–इकाईका प्रमुख समेत रहेका बरिष्ठ कृषि अधिकृत बरालले भने ।

उनका अनुसार, सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिर लगायतका फलफुलमा यो रोगको संक्रमण फैलिएको छ । बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने औँसाका लार्भाहरु माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा रहेकाले झरेका फलको व्यवस्थित व्यवस्थापन र नष्ट गर्न आबश्यक रहेको प्रमुख बरालले बताए ।

औँसा नियन्त्रण चुनौतीपूर्ण बन्दै

कार्यालयले कृषकहरुलाई झरेका कीरा संक्रमित फलहरु बाक्लो प्लाष्टिकको थैलोमा जम्मा गरि थैलोको मुख हावा नछिर्ने गरि बन्द गरि त्यसमा रहेका औँसाका लार्भा मार्ने कार्यमा जुट्न आह्वान गरेको छ । अहिले झरेका फलहरुको औँसा व्यवस्थापन नगरे केही बर्षमै यस क्षेत्रबाट सुन्तला खेती लोप हुने खतरा रहेको जानकारहरू बताउँछन् ।

पाक्ने समय नहुँदै पहेँलो हुने र झर्ने समस्याले सुन्तला खेतीमा गम्भिर समस्या आएको जलजला गाउँपालिका– ९ बनौँका कृषक शुभबहादुर क्षत्रिले बताए । उनले बिगत दुई बर्षदेखि सुन्तला झर्ने समस्या देखिएको र रोग पहिचानमै ढिलाई भएको कारण रोगथामको कार्यहरु प्रभाबकारी बन्न नसकेको बताए । बोटबाटै सुन्तला रोगग्रस्त भएर झर्न थालेपछि कृषकहरुले लाखौँको क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

महामारीकै रुपमा सुन्तला खेतिमा फैलिएको औँसाको नियन्त्रण एक÷दुई जना कृषकहरुले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या देखिएको सबै बगैँचाहरुमा अभियानकै रुपमा नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ । कार्यालयले तालिम र स्थलगत प्रशिक्षण मार्फत कृषकहरुलाई रोगबारे सचेत गराएपनि एकिकृत रुपमा रोग नियन्त्रणको अभियान सञ्चालन नहुँदा रोग नियन्त्रण प्रभाबकारी बन्न सकेको छैन् ।

५२ वडा समेटेर जोन स्थापना

म्याग्दी, बाग्लुङ र पर्वतको ८ वटा स्थानीय तहका ५२ वटा वडालाई समेटेर सुन्तलाको पकेट क्षेत्र बनाउनको लागि म्याग्दी सदरमुकाम बेनीमा कार्यालय रहने गरि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जोन कार्यान्वयनमा ल्याईएको छ ।

परियोजना कार्यान्वयन हुनु अघि ७६३ हेक्टरमा सुन्तला खेती रहेको यी क्षेत्रमा अहिले थप १५९ हेक्टरमा सुन्तला खेती विस्तार भएको छ । परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले सुन्तला खेति विस्तारमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएका छन् ।

जोनले समेटिएका स्थानबाट गत बर्ष ९९७ मेट्रिक टन सुन्तला निर्यात हुँदा करिब ८० करोड कारोबार भएको परियोजनाले जनाएको छ । यस बर्ष फल लाग्ने बेलामा परेको असिनाले क्षति पुर्याएको र फलेका फलपनि नपाक्दै बोटबाटै झर्ने समस्याले सुन्तला खेतिको आम्दानी अत्यधिक गिरावट आउने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button