१३ औं साग : पोखरामा हुने ८ खेलमा ७ सय २२ जना खेलाडी सहभागी

दीननाथ बराल, पोखरा न्यूज -०६, मंसिर।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ खेलमा ७ सय २२ जना खेलाडीहरु सहभागि हुने भएका छन्। यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा पनि संचालन हुने सागमा पुरुष भन्दा महिला खेलाडीहरु बढी सहभागी हुने भएका हुन् ।

१३ औं साग प्राविधिक समिति पोखराले दिएको तथ्याङकको आधारमा पोखरामा हुने सागमा ३ सय २१ जना पुरुष खेलाडीहरु सहभागी हुने भएका छन् भने ४ सय १ जना महिलाहरु सहभागी हुने भएका हुन् । पोखरामा हुने खेलहरुमा खेलाडी र अफिसियल सहित ९ सय ८ जना सहभागी हुने भएको समितिले जनाएको छ ।

नेपाल र श्रीलंका पोखरामा हुने साग अन्तर्गत ८ खेलमा सहभागि हुने भएका छन् भने भारतले आर्चरी र महिला क्रिकेट खेलमा सहभागिता नजनाउने भएको छ । त्यसै गरी पाकिस्तान फुटबल, ट्राय्थलन र महिला क्रिकेटमा सहभागी नहुने भएको छ भने माल्दिभ्स आर्चरी, भारतोलन र ट्राय्थलनमा सहभागी नहुने भएको हो ।

त्यस्तै बंगलादेश महिला फुटबल र ट्राय्थलनमा सहभागी नहुने भएको छ भने भुटानले आर्चरी, महिला फुटबल, बिच भलिबल, ट्राय्थलनमा सहभागी नहुने भएको हो । १३ औं सागमा आयोजक नेपालबाट सबै भन्दा धेरै १ सय ५४ जना  खेलाडीहरु सहभागी हुँदा भुटानबाट सबै भन्दा कम ३५ जना खेलाडी मात्र सहभागी हुने भएको प्राविधिक समितिका सचिव बलराम लामाले बताए ।

भारतबाट १ सय २ जना खेलाडी, पाकिस्तानबाट ७३ जना, माल्दिभ्सबाट ६१, बंगलादेशबाट १ सय १४ जना र श्रीलंकाबाट १ सय ४२ जना खेलाडीहरु सहभागी हुने भएका छन् । १३ औं सागमा २७ खेल मध्य पोखरामा ८ खेल, जनकपुरमा कुस्ती र बाँकी खेल काठमाडौंमा हुने भएका छन् ।

पोखरा हुने भनिएको प्याराग्लाइडिङमा न्यूनतम तीन टिम नहुँदा सागमा प्याराग्लाइडिङ खेल नै नहुने भएको हो । सागको तयारी स्वरूप  विभिन्न खेलको प्रशिक्षण पोखरामा भई रहेको छ भने केही खेलाडीहरु विदेशमा प्रशिक्षणमा रहेका छन् । काठमाण्डौंमा पनि केही खेलको प्रशिक्षण भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button