संघीयता केपी ओलीले खानुभयो, पंगु बनाउनुभयो : गगन थापा

पोखरा न्यूज -०६, मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले नेपाल तरुण दल कास्की–२ ले आयोजना गरेको चुनावी सभामा बोल्दै सादगी नेता खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरेका छन् । उनले राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवार भन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेको भन्दै यी सबै चिज उम्मेदवार पौडेलमा पाउन सकिने बताएका हुन् ।

‘खेमराज गुरु सबैको प्रेरणाको स्रोत हुनुहुन्छ । सादगी नेता खेमराज पौडेललाई पुरस्कार स्वरुप जिताएर पठाउन आवश्यक छ’, उनले भने, ‘खेमराजको यसअघिका गतिविधिलाई बुझेर मत दिनुहोला ।’ यो निर्वाचनको नतिजाले अंक गणितको हिसाबमा केही फरक नहुने तर निर्वाचनले दिने सन्देश महत्वपूर्ण भएको नेता थापाले बताए । यस्तो अनुकूल अवस्थामा पनि सरकारले सिन्को भाच्ने काम नगरेको भन्दै उनले भने, ‘सरकारका कारण संघीयता धरापमा पर्यो । संघीयता केपी ओलीले खानुभयो, पंगु बनाउनुभयो । विरोध गर्नुपर्ने मुख्यमन्त्रीहरू हली बनेर बस्नुभयो ।’

त्यस्तै  नेपाली काँग्रेस  संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले प्रजातान्त्रिक आन्दोलनका योद्धा खेमराज पौडेललाई चुनावमा सघाउन पाउनु सौभाग्यको कुरा भएको बताएका छन् । नेता खाँडले नेपाली कांग्रेस कमजोर हुँदा सबै क्षेत्र कमजोर भएको टिप्पणी गरे । उनले यो चुनाव जितेर कांग्रेसले सन्देश दिन चाहेको बताए । कम्युनिष्ट सरकारले संविधान र कानुन मिचेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।

‘यो चुनावमा पनि सूर्यमा मतदान गर्नु भनेको सरकारले गरेका गलत कामलाई जनताद्वारा अनुमोदन गर्नु हो’, उनले भने, यो निर्वाचन सबै तवरबाट निष्पक्ष हुन पनि आवश्यक छ ।’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिष्ट सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताएका छन् । उनले केपी ओली सरकार संघीयता विरोध भएको आरोप लगाउँदै त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले यो चुनाव जित्न आवश्यक रहेको बताए ।

शुक्रबार पोखरा-९ मा आयोजित चुनावी सभामा नेता कोइरालाले सरकारले चालेका सबै कदम अलोकतान्त्रिक भएको भन्दै सरकार संविधान, प्रेस स्वतन्त्रता, समावेशिता, गणतन्त्र, संघीयता मास्न उद्धत रहेको बताए । संसदमा रहेको मिडिया काउन्सिल विधेयक पास हुने क्रममा रहेकाले त्यो पास भएमा लोकतन्त्र भन्ने चिज नेपालबाट हराउने बताए ।

विकास निर्माण बारे बोल्दै नेता कोइरालाले भने, ‘कास्की क्षेत्र नं. २ अन्तर्गत केही वडामा काँग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि काँग्रेसकै प्रतिनिधि छन् । त्यसैले प्रतिनिधिसभामा पनि कांग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ ।’

पोखरा–९ की वडासभापति उमा ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, विन्दुकुमार थापा, विरेन्द्रनारायण विजुक्छे, रामराज लामिछाने, शिवराज बाँस्तोला लगायतले बोलेका थिए । तरुणदलको सभामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, पूर्वसांसद रामहरि खतिवडा, तरुण दलका कोषाध्यक्ष द्विान गुरुङ, पूर्व अध्यक्ष उदय शमशेर राणा, महिला नेतृ सीता गुरुङ, उम्मेदवार खेमराज पौडेल लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. अहिलेको अवस्थामा पनि नेकपा कै उम्मेदवार लाई भोट दिनु भनेको निर्मला पन्तको बलात्कार पछि हत्यालाई सही मान्नु हो! ३३ किलो सुन, वाईडबडी काण्ड, एनसेलको अरबौं को कर माफ़ी काण्ड, मेलम्ची को ठेकेदार भगाएर अरबौं कुम्स्याउने दाउको समर्थन गर्नु जस्तै हो! त्यसकारण सादा जीवन उच्च विचार बोकेका पोखरालाई अन्तराष्ट्रिय पर्यटन गन्तव्यको प्रमुख केन्द्र बनाउने भिजन सहितका अनुभवसिद्ध नेता खेमराज पौडेललाई जिताउनु पोखरा २ का मतदाताहरुको सही निर्णय साबित हुनेछ! देशको भावि राजनीतिकों छनक दिने यो उपनिर्वाचन राष्ट्रीय महत्त्वको निर्वाचन हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button