प्रहरीले पक्राउ गरेका व्यक्तिको मृत्यु

पोखरा न्यूज – ९, मंसिर । मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आइतबार अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरीचौकी गैरा डोटीले पक्राउ गरेका १ चालकको रहस्यमय तरीकाले मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा गैरा बस्ने २१ वर्षीय गणेश पाली छन् ।
पालीले मापसे गरी गैराबाट डडेल्धुराको गाङ्खेत जाने कच्ची सडकमा अन्य जीपलाई जान नदिई आफूले चलाउँदै आएको से १ ज २९२ नम्बरको महेन्द्रा जीप लगी बाटो छेकेको र बाटो छेकेको जानकारी प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त पालीले आफूलाई पिसाब लागेको भन्दै शौचालयमा गएर नाम नखुलेको २ क्याप्सुल औषधि खाई शौचालय बाहिर निस्किँदा आगनमा ढलेको अवस्थामा प्रहरीले उठाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले गैरा क्षेत्रमा मृतकका आफन्तले घटना रहस्यमय तरिकाले भएको भन्दै नाराबाजी गरिरहेका छन् । त्यहाँको स्थिति नियन्त्रण गर्नका लागि प्रहरीको सङ्ख्या थप गरिएको बताइएको छ । पालीले कुन औषधि खाएका हुन् भन्ने विषयमा उनको शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख देउवाले जानकारी दिए । शव परीक्षणका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button